images
images

सुनकोशी–७ मा राजोनिवृत्तिबारे सचेतनामूलक कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६, थुम्पाखरमा महिलाको स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषय राजोनिवृत्ति (Menopause) बारे सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण महिला सिर्जनशील परिवार (GMSP) को आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा राजोनिवृत्ति के हो, यस अवस्थामा देखिन सक्ने शारीरिक तथा मानसिक परिवर्तन, सामान्य लक्षण, स्वास्थ्यमा पर्ने असर, सावधानी तथा स्वास्थ्य हेरचाहका विषयमा सहभागीलाई जानकारी दिइएको थियो। राजोनिवृत्तिलाई महिलाको स्वाभाविक जीवन प्रक्रिया रूपमा बुझ्दै यस अवधिमा परिवार, स्वास्थ्य संस्था र समुदायबाट आवश्यक सहयोग, सम्मान र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रम संयोजक टीका देवी थापाको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता GMSP कार्यसमिति सदस्य तथा निवर्तमान अध्यक्ष जयन्ती खड्काले गर्नुभएको थियो। सुनकोशी–७ का वडा अध्यक्ष चक्रबहादुर प्रमुख अतिथि रहनुभएको कार्यक्रममा थुम्पाखर स्वास्थ्य चौकी प्रमुख जुली आले र टीका देवी थापाले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा वडा कार्यालय र स्वास्थ्य संस्थाले महिला स्वास्थ्य प्रवर्द्धनमा खेल्नुपर्ने भूमिका, स्वास्थ्य परामर्श, महिला स्वास्थ्य स्वयंसेविकामार्फत सूचना प्रवाह तथा आवश्यक सेवामा महिलाको पहुँच बढाउने विषयमा छलफल भयो। वडा सचिव, महिला स्वास्थ्य स्वयंसेविका, महिला सञ्जाल, सहकारी तथा विद्यालय प्रतिनिधिसहित स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

सहभागीका सुझाव र अनुभवका आधारमा महिला स्वास्थ्य तथा राजोनिवृत्तिसम्बन्धी समुदायस्तरीय योजना निर्माणसमेत गरिएको आयोजकले जनाएको छ। वडा अध्यक्षले महिला स्वास्थ्य र सामाजिक सशक्तीकरणका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्