images
images

जलवायु परिवर्तनको चुनौतीबीच धान उत्पादन बढाउने सन्देश, हेलम्बुमा धान दिवस उत्साहका साथ मनाइयो

हेलम्बु, असार १५ – जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो चुनौतीका बीच धान उत्पादन बढाउँदै खाद्य आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ थापाटारमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ।
“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सामूहिक रूपमा धान रोप्दै जलवायुमैत्री खेती प्रणालीको महत्वबारे सन्देश दिएका थिए।
इच्छेश्वरी महिला बचत तथा कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रम हेलम्बु गाउँपालिकाको समन्वय, जस्ट नेपाल फाउन्डेसनको आर्थिक सहयोग र ली–बर्डको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रममा हेलम्बु गाउँपालिका–६ का वडा अध्यक्ष सञ्चबहादुर तामाङले स्थानीय रैथाने बीउबिजनको संरक्षणसँगै उन्नत धानका जातको विस्तारमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। जलवायु परिवर्तनको असर कम गर्न स्थानीय वातावरणअनुकूल कृषि प्रविधिको प्रयोग अपरिहार्य भएको उहाँको भनाइ थियो।
यस वर्ष कार्यक्रममा ६ वटा स्थानीय र ८ वटा बाहिरबाट ल्याइएका गरी १४ जातका धानको परीक्षणात्मक रोपाइँ गरिएको छ। उपयुक्त उत्पादन दिने जात छनोट गरी आगामी दिनमा स्थानीय किसानसम्म विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा इच्छेश्वरी महिला बचत तथा कृषक समूहकी अध्यक्ष राधिका दंगालले कृषि बिमालाई प्रभावकारी बनाउन र कृषि पेशालाई सम्मानित व्यवसायका रूपमा स्थापित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
धान दिवसलाई सांस्कृतिक उत्सवका रूपमा समेत मनाइएको थियो। पञ्चेबाजाको तालमा किसानहरूले सामूहिक रोपाइँ गरे भने पछिल्लो समय हराउँदै गएको बेठी परम्परालाई पनि पुनर्जीवित गरिएको थियो।
यद्यपि, कार्यक्रममा किसानहरूले आफ्नो मुख्य समस्या पनि सुनाए। २०७८ सालको बाढीले मेलम्ची खोलाबाट आउने सिँचाइ कुलो बगाएपछि करिब ६२ घरधुरी आकाशे पानीकै भरमा खेती गर्न बाध्य छन्। सिँचाइको अभावले उत्पादन घट्दै गएको भन्दै किसानहरूले कुलो पुनर्निर्माणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
जलवायुमैत्री खेती, स्थानीय बीउ संरक्षण, आधुनिक कृषि प्रविधिको प्रयोग र सामुदायिक सहकार्यलाई जोड दिँदै मनाइएको यस वर्षको धान दिवसले कृषिप्रति नयाँ उत्साह जगाएको सहभागीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

images
images
images