सिन्धुपाल्चोक । कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२, ठोकर्पामा दाेस्राे राष्ट्रिय कोदो दिवस २०८३ को अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
“कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा किसान, स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा पिङडाँडा सामूहिक बिउ बैंक ले संरक्षण गर्दै आएका विभिन्न कोदोका स्थानीय जातहरू, नेपालका विभिन्न क्षेत्रमा पाइने कोदोजन्य बाली तथा परिकारहरू लगायतका सामग्रीको स्टल राखी प्रदर्शन गरिएको थियो। प्रदर्शनीमार्फत रैथाने बालीको संरक्षण, बीउको महत्व तथा कोदोको पोषण मूल्यबारे जानकारी गराइएको थियो।

सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्लामध्ये एक मानिन्छ। नेपालका ७७ वटै जिल्लामा कोदो उत्पादन हुने भए पनि पहाडी जिल्लाहरूमा यसको उत्पादन र उपभोग उल्लेखनीय रहेको छ।
कार्यक्रममा कोदो बालीको संरक्षण, उत्पादन वृद्धि, बजारीकरण तथा खाद्य र पोषण सुरक्षामा यसको योगदानबारे छलफल गरिएको थियो। कार्यक्रमको समन्वय पिङडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेड ले गरेको थियो भने सुनकोशी गाउँपालिका को सहयोग रहेको थियो।

आयोजकले यस्ता कार्यक्रमले रैथाने बालीको संरक्षण, किसानको आयवृद्धि तथा स्थानीय कृषि प्रणालीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्