images
images

बारीबाटै बजारसम्म हेलम्बुका किसान : कृषि एम्बुलेन्सले राजधानी पुर्‍यायो सयपत्रीसहित मौसमी उत्पादन

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानका लागि यस वर्षको तिहार फूल बेच्ने अवसर मात्र बनेन, स्थानीय उत्पादनलाई राजधानीको बजारसम्म पुर्‍याउने नयाँ बाटो पनि बनेको छ। ढुवानी र बजारको अभावमा विगतमा बारीमै उत्पादन कुहाउनुपर्ने वा सस्तोमा बेच्नुपर्ने बाध्यता भोग्दै आएका किसानले यसपटक गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत आफ्ना उत्पादन काठमाडौँ पुर्‍याएका छन्।

किसानले झण्डै तीन सय किलो सयपत्री फूलसहित मखमली फूल, एभोकाडो, जुनार र हलुवावेदलगायत मौसमी कृषि उपज राजधानीका बजारमा बिक्रीका लागि ल्याएका हुन्।

गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले किसान र बजारबीचको दूरी घटाएको छ। गाउँपालिकाका वरिष्ठ कृषि प्राविधिक उद्धव कार्कीका अनुसार कृषि एम्बुलेन्सको व्यवस्थापछि पहिलो पटक ठूलो परिमाणमा फूल तथा मौसमी फलफूल राजधानी पुर्‍याइएको हो।

यसअघि ढुवानीको समस्या र बजारसम्म पहुँच नहुँदा किसानले उत्पादनको उचित मूल्य पाउन सकेका थिएनन्। कृषि एम्बुलेन्सले ढुवानी सहज बनाउनुका साथै बिचौलियामा निर्भर हुनुपर्ने अवस्था घटाउन सहयोग पुर्‍याएको गाउँपालिकाको विश्वास छ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्ने यो पहलले किसानको आम्दानी बढाउने सम्भावना मात्र देखाएको छैन, ग्रामीण क्षेत्रमा व्यावसायिक खेती विस्तारका लागि समेत प्रोत्साहन गरेको छ। तिहारको समयमा हेलम्बुका फूल र फलफूल राजधानीका बजारमा पुग्नु स्थानीय कृषि उत्पादनको बजारीकरणमा सकारात्मक सुरुवातका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्