images
images

भारी वर्षाको पूर्वानुमानपछि सिन्धुपाल्चोकमा पनि अलर्ट जारी, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

सिन्धुपाल्चोक । सम्भावित भारी वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कार्यालयले कात्तिक १२ गतेदेखि १४ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका आधारमा सूचना जारी गरेको हो। जिल्लाका अधिकांश स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा धानबालीमा क्षति पुग्न सक्ने भन्दै प्रशासनले आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

स्थानीय तह र सुरक्षा निकायलाई समुदायमा सूचना प्रवाह गर्न, धानबाली सुरक्षित रूपमा भित्र्याउन तथा जोखिमयुक्त सडकमा डोजर, एक्स्काभेटर र लोडर तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।

त्यस्तै, पञ्चपोखरी, आमायाङ्री, जुगल बेसक्याम्प र भैरवकुण्डलगायत पर्यटकीय क्षेत्रमा जोखिमपूर्ण पदयात्रा नगर्न तथा खोला र नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनले अनुरोध गरेको छ।

आपत्कालीन अवस्थामा मौसम विभागको ११५५ र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्