images
images

मेलम्चीमा जलवायु अनुकूल समुदाय र विद्यालय निर्माणसम्बन्धी प्रारम्भिक बैठक सम्पन्न

मेलम्ची। रिड नेपालको आयोजनामा ‘उत्थानशील सुरुवातका लागि सुरक्षित पोषण’ कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकामा जलवायु अनुकूल समुदाय तथा विद्यालय निर्माणसम्बन्धी एकदिने विशेष प्रारम्भिक बैठक सम्पन्न भएको छ। नगर प्रमुख आइतमान तामाङकाे अध्यक्षतामा आयोजित बैठकमा नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइराला, विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानपानको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यार्थीको पोषण, शैक्षिक गुणस्तर, स्वास्थ्य प्रवर्द्धन र विद्यालयको समग्र सुधारमा रिड नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। साथै, जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्दै विद्यालय तथा समुदायलाई उत्थानशील बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

बैठकमा पोषणयुक्त वातावरण निर्माण, स्वास्थ्य सचेतना, जलवायु अनुकूल अभ्यासको संस्थागत विकास र कार्यक्रम कार्यान्वयन प्रक्रियाका विषयमा घनीभूत छलफल भएको थियो। सहभागीहरूले स्थानीय तह, विद्यालय र समुदायको सहकार्य मार्फत सुरक्षित तथा जलवायु-उत्थानशील वातावरण तयार पार्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्