सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा भगवान गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो ।
गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए । धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठूला ढुंगामा बनाइएको उनले बताए । ८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अध्यक्ष लामाले दिए ।
उक्त मूर्तिको पूर्वमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ लालकाजी लामाले २०७८ पुस ३ गते संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । ढुङगामा छिनो र हम्मरले हानेर बुद्ध मूर्तिको शिलान्यास गरिएको थियो ।

अध्यक्ष लामाका अनुसार एशियाकै अग्लो ढुंगामा कुँदिएको एकै टुक्राको बुद्ध प्रतिमा बन्ने लक्ष्यका साथ काम भइरहेको छ। परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । पाँचपोखरी गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा बनाउने काम भइरहेको छ ।
उनले धार्मिक पर्यटन प्रवद्र्धन गर्न, स्थानीयको आर्थिक समृद्धिमा टेवा पु¥याउन र पाँचपोखरी थाङ्पाललाई अध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारेको बताए ।
‘बुद्ध जन्मेको देशमा, बुद्धकै सन्देश फैलाउने हाम्रो अभियान हो,’ अध्यक्ष लामाले बताए,’यो काम युगौ युगसम्म इतिहासमा कायम रहने छ।’ अध्यक्ष लामाले देश तथा विदेशमा रहेका नेपाली तथा श्रद्धालुहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरे । उनले सहयोगीहरूको नाम शिलालेखमा राखिने उल्लेख गरे ।















प्रतिक्रिया दिनुहोस्