सिन्धुपाल्चोक । तातोपानी नाका जोड्ने कोदारी राजमार्गको इको खण्डमा अस्थायी ट्र्याक खुलेसँगै लामो समयदेखि रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका छन्। असार ३१ गते पहिरोसँगै सडक भासिएपछि अवरुद्ध बनेको सडक सडक डिभिजन कार्यालय चरिकोटले नयाँ ट्र्याक निर्माण गरेपछि सोमबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको हो।
डाक्लाङमा सडक भासिएपछि इको क्षेत्रमा टिपर तथा ठूला मेसिन परिचालन गरी करिब १० दिनमा वैकल्पिक ट्र्याक निर्माण गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। यससँगै बाह्रबिसेदेखि लिपिङ बसपार्कसम्म सवारी सञ्चालन सम्भव भएको छ।
सडक खुलेपछि कोदारी बजारमा लामो समयदेखि रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका छन्। व्यवसायीका अनुसार लिपिङपारि अझै करिब ८५ कन्टेनर अलपत्र छन्। लिपिङमा पहिरो र भोटेकोशी नदीको कटानले सडक पुनर्निर्माणमा चुनौती थपेको छ।
सडक डिभिजनले लिपिङको अवरोध हटाएर चीन सीमासम्म यातायात सहज बनाउने काम जारी राखेको जनाएको छ। दशैँ–तिहारअघि नाका पूर्ण रूपमा सञ्चालनमा आउने व्यवसायीले अपेक्षा गरेका छन्।












प्रतिक्रिया दिनुहोस्