महिलाको स्वास्थ्य, आत्मविश्वास र नेतृत्व क्षमता विकासलाई खेलकुदसँग जोड्ने अभियानमा सक्रिय क्याच एन्ड सर्भ बल नेपालले आफ्नो पहिलो वर्ष पूरा गरेको अवसरमा राष्ट्रिय भेला तथा वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
साउन ३० गते काठमाडौँमा आयोजित कार्यक्रममा खेलकुदलाई महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै सामाजिक सहभागिता र नेतृत्व विकासको माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ। ‘खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद’ अवधारणासहित संस्थाले ‘चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्म’ भन्ने नारालाई अभियानको आधार बनाएको छ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य डा. अन्जन शाक्यले महिलाभित्र रहेका प्रतिभा र क्षमतालाई उजागर गर्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने बताइन्। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अवसर र सहभागिता पाए महिलाले खेलकुदसँगै सामाजिक नेतृत्वमा समेत योगदान दिन सक्ने धारणा राखिन्।
बागमती प्रदेशका पूर्वमन्त्री निमा लामाले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक रूपान्तरणको आधार बनाउनुपर्ने बताए।
इजरायल तथा युरोपमा लोकप्रिय क्याच एन्ड सर्भ बल पछिल्लो समय नेपालमा विस्तार हुँदै गएको छ। मनास्लु महिला क्षमता विकास केन्द्रद्वारा सञ्चालित संस्थाले आगामी दिनमा देशका विभिन्न क्षेत्रमा खेल विस्तार गर्दै थप महिलालाई सहभागी गराउने जनाएको छ। वार्षिक साधारण सभामा संस्थाको एकवर्षे प्रगति, चुनौती र आगामी योजनाबारे समेत समीक्षा गरिएको थियो।














प्रतिक्रिया दिनुहोस्