images
images

हेलम्बुका दुई क्षेत्रमा वृक्षारोपण, पर्यटन र जैविक विविधता संरक्षणमा जोड

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका दुई स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। हेलम्बु गाउँपालिका र जस्ट नेपाल फाउन्डेसनको सहकार्यमा सञ्चालन भएका कार्यक्रमहरूले हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण, पर्यटन विकास तथा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

हेलम्बु गाउँपालिका–३, पाल्चोक, शेरास्थित कालोपत्रे सडक किनारमा शेराबेँसी महिला कृषक समूह को अगुवाइमा जैकारान्डा, बोगनभिलिया, शमी, नीम, पेन्सिल धुपी, झुप्पे धुपी, कपूर, बेल र रुद्राक्षलगायत धार्मिक तथा आलङ्कारिक बिरुवाहरू रोपिएको छ। यस अभियानले सडक सौन्दर्यीकरण, हरियाली विस्तार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। कार्यक्रमको समन्वय तथा सफल कार्यान्वयनमा स्थानीय जलवायु अभियन्ता सुभाष खड्का र गीता थापा ले विशेष भूमिका निर्वाह गरेका थिए।

यस्तै, हेलम्बु गाउँपालिका–६ स्थित नयाँबस्ती सामुदायिक वन उपभोक्ता समिति को अगुवाइ तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा नयाँबस्ती सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा टिमुरका १६० र भटमासेका २०० गरी ३६० बिरुवा रोपिएका छन्। यसले वन क्षेत्रको हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा स्थानीय समुदायको जीविकोपार्जनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने शेराबेँसी महिला कृषक समूह, नयाँबस्ती सामुदायिक वन उपभोक्ता समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्