images
images

बिदाको दिनमा पनि सेवा दिँदै बाह्रबिसे ३ को वडा कार्यालय, धमाधम सामाजिक सुरक्षा भत्ता नवीकरण

बाह्रबिसे ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ ले वडाका विभिन्न टोलटोलमा गई सार्वजनिक बिदाकाे दिनमा समेत सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरेकाे छ ।

images
images

नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र लाभग्राही सूचीकरण सम्बन्धी नयाँ निर्देशन जारी गरेपछि देशैभरि एकैचोटि अभियानकै रूपमा सञ्चालन हुँदा सफ्टवेयरले काम नगरेपछि वडा नम्बर ३ ले भने बिदाको दिनमा नवीकरणको कामलाई अगाडि बढाएको छ।

हिजो शनिबार समेत वडाले इन्टरनेटको पहुँच पुगेको स्थानमा गई सेवा दिएको र उक्त काम आज पनि निरन्तर जारी रहेको वडा अध्यक्ष जीवन भण्डारीले जानकारी दिए । अन्य दिनभन्दा शनिबार साथै सार्वजनिक बिदाको दिनमा सफ्टवेयरले अलि छिटो काम गर्ने भएकोले लाभग्राहीहरूको सुविधाको लागि बिदाको दिनमा समेत गाउँ गाउँमै गई बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सेवा प्रदान गरेको उनको भनाइ छ।

४६४ जम्मा लाभग्राही रहेको वडामा हालसम्म १७५ भन्दा बढीको नवीकरण गरिएको वडा कार्यालयले जनाएको छ।

गाउँमा रहेका लाभग्राहीहरूको नवीकरणको काम सकिएपछि काठमाडौँमा बसोबास गर्नेहरूलाई लक्षित गरी भदौको दोस्रो साताको शनिबार काठमाडौँमा पनि नवीकरणको लागि वडाको टोली जाने वडा अध्यक्ष भण्डारीले बताए ।

सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ र भत्ता वितरण कार्यविधि २०७७ अनुसार लाभग्राहीको परिचयपत्र प्रत्येक आर्थिक वर्षको साउन १ गतेदेखि भदौ मसान्तसम्म नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय परिचयपत्र वा परिचय नम्बर (NIN) प्राप्त गरेका लाभग्राहीको हकमा बायोमेट्रिक भेरिफिकेशन (Fingerprint Scanner वा Iris Device) अनिवार्य गरिएको छ। बायोमेट्रिक सफल नभएमा वैकल्पिक रूपमा NID मा उल्लेखित विवरण र फोटो मिलाएर Alpha Authentication बाट नवीकरण र सूचीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्