images
images

पाँचपोखरीमा जनैपूर्णिमा मेला भर्न आउनेहरु बढ्दै, यस्ताे छ धार्मिक र पर्यटकिय महत्व

मेलम्ची ।

पाँचपोखरी समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । पाँच पोखरीमा पाँचवटा पोखरीहरु छन् । यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका ३ मा अवस्थित पाँचपोखरीको आफ्नो सांस्कृतिक र धार्मिक मान्यता पनि रहेको छ ।

images
images

साउन शुक्लपक्षको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने पाँचपोखरीमा मेला भर्नका लागि देशका विभिन्न स्थानबाट पर्यटकहरु आउने क्रम बढेको छ । यस वर्ष २० गते मंगलबार (एकादशी) देखी २४ गते जनै पूर्णिमाको दिन सम्म्म मेला लाग्दै छ ।

काठमाण्डौंबाट मेलम्ची हुँदै थाङपालधाप, भोताङबाट जाने एउटा रुट छ । बर्खाको समयमा थाङपालधापसम्म बसको यात्रा गर्न सकिन्छ । त्यसपछि सुरु हुन्छ पैदल पद मार्ग । पाँचपोखरी रहेकै साविकको गाविस भोताङको बजारसम्म बाटो सहज छ ।

त्यसपछिको बाटो केही अप्ठ्यारो भएता पनि हरियाली, खोला, झरना र ग्रामीण जनजीवन हेर्दै यात्रा गर्दा बाटो कटेको भने पत्तै हुँदैन । ठाडो उकालो र जंगलै जंगलको यात्रा केही कष्ट्रकर रहे पनि त्यहाँको सौन्दर्यले दुःख बिर्साउँछ । यो रुटमा आमा याङग्री, ड्रागन गुफा, हवेली, नागी डाँडा, रैथानेश्वरी हेर्न लायक स्थान हुन् । भोताङ बजारबाट उकालो लागेपछि बीचमा पाइने चौंरी गोठबाहेक बासको विकल्प अरु छैन ।

एकै ठाँउमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिन भरी फुलेका विभिन्न रङ्गका फूलहरूले सबैको मन भने अवश्य नै लोभ्याउने गर्दछ । साउन शुक्लपक्षको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ । पूर्णिमाको दिन र रातभरि धामी–झाँक्रीको झाँकी नाच हेर्न सकिन्छ । तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा स्थानीय भेषभुषा र भाषामा झाँक्री नाच हेर्न भने पाइन्छ ।

पाँच पोखरी, इन्द्रावती नदिको उद्गमस्थल पनि हो । यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ । पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकाङ्क्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्