हेटौँडा ।
बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएकोे छ । संसदीय दलमा आज भएको मत विभाजनमा लामाको पक्षमा १५ मात्रै मत परेको छ । उनको विपक्षमा २२ मत परेको छ । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाए ।
बागमतीका मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उहाँको विकल्पमा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् । २२ सांसद बानियाँको पक्षमा रहेकाले लामालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाव बढेको छ । कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले बहादुरसिंह लामामाथिको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका हुन् ।
संसदीय दलको नेताबाट विश्वास गुमाए पनि मुख्यमन्त्री पद भने नछाड्ने अडान बहादुरसिंह लामाले दोहो¥याए । मत विभाजनमा पराजित भए पनि प्रदेश सरकारको नेतृत्व आफूसँगै रहने जिकिर गर्दै उनले भने, ‘सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुन दलको नेता हुनैपर्छ भन्ने छैन ।’
लामाले आजको घटनाक्रमबारे प्रतिक्रिया दिँदै आफूविरुद्ध पार्टीभित्रै षड्यन्त्र रचिएको गुनासो गरे । उनले भने, ‘सबैलाई मिलाएर अघि बढौँ भनेको थिएँ, तर विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मेरै मन्त्रीहरू पनि त्यसको हिस्सा रहेछन् ।’
उनले पार्टीभित्रका नेताहरू लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्नेमा जोड दिँदै भोलिको प्रक्रियामा आफैँले सहभागिता जनाउने बताए । ‘लोकतान्त्रिक प्रक्रियामा जाने हो भने जाने हो । मत विभाजन प्रक्रियामा गइयो, त्यसमा मेरो पक्षमा १५ मत आयो, विपक्षमा २२ मत । म संसदीय दलको नेता अब रहिनँ, तर सरकारबाट हट्नुपर्ने आधार छैन’, लामाले भने । कांग्रेसभित्रको यो आन्तरिक विभाजनसँगै बागमती प्रदेश सरकार नेतृत्वमा फेरबदलको सम्भावना बलियो बनेको छ ।















प्रतिक्रिया दिनुहोस्