सिन्धुपाल्चोक–२ का प्रतिनिधिसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले गुठी किसानको समस्या र देशभर बढ्दो बाँदर आतंकबारे संसद्मा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले बाँदरका कारण किसानको अन्नबाली नष्ट हुँदै गएको र कृषि पेशा नै संकटमा परेको भन्दै तत्काल प्रभावकारी कानुन निर्माण गर्न सरकारसँग माग गरे। उनले किसानको उत्पादन र जीविकोपार्जन जोगाउन दीर्घकालीन समाधान आवश्यक रहेको बताए।
सांसद दुलालले सिन्धुपाल्चोकका गुठी किसानको समस्या विशेष रूपमा उठाउँदै विक्रम संवत् १८५६ देखि पशुपति महास्नान गुठीको नाममा रहेको फट्केश्वर क्षेत्रको करिब १२ सय रोपनी जग्गा जोतभोग गर्दै आएका किसान अझै अन्यायमा परेको उल्लेख गरे। उनले सिन्धुपाल्चोकमा मात्रै करिब २२ हजार घरधुरी गुठी जग्गाबाट प्रत्यक्ष प्रभावित रहेको जानकारी दिँदै सर्वदलीय सहमतिका आधारमा गुठीसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउन सरकारसँग माग गरे।
वास्तविक गुठी किसानको अधिकार सुनिश्चित गर्न अब थप ढिलाइ गर्न नहुने उनको भनाइ थियो। किसानका समस्यालाई बेवास्ता गरे कृषि उत्पादनसँगै ग्रामीण अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने चेतावनी दिँदै सांसद दुलालले गुठी किसान र कृषकको हित संरक्षणका लागि सरकारले शीघ्र ठोस कदम चाल्नुपर्नेमा जोड दिए।












प्रतिक्रिया दिनुहोस्