images
images

सिन्धुपाल्चोक प्रशासनको सेवा सुधार : टोकन प्रणाली र निःशुल्क सहायताबाट सेवाग्राहीलाई सहजता

चाैतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा प्रवाहमा सुधार गर्दै नागरिकमैत्री प्रणाली लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा ‘एकीकृत सेवा प्रणाली’ लागू भएपछि सेवाग्राहीले कोठा–कोठा धाउनुपर्ने बाध्यता हटेको प्रशासनले जनाएको छ।

टोकन प्रणालीमार्फत पालैपालो सेवा प्रदान गरिँदा कर्मचारीले नै प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा सञ्चालित निःशुल्क नागरिक सहायता सेवाबाट आर्थिक वर्ष २०८२/८३ मा ८ हजार ७ सय ७५ जनाले लाभ लिएका छन्। राहदानी, राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन, निवेदन लेखन तथा फोटोकपी सेवा निःशुल्क उपलब्ध गराइँदा सेवाग्राहीको समय र खर्च दुवै बचत भएको प्रशासनको दाबी छ।

कार्यालयले पहिलोपटक वार्षिक सेवा विवरण सार्वजनिक गर्दै नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा तथ्यांक पनि सार्वजनिक गरेको छ। यद्यपि नागरिकता प्रमाणपत्रको प्रिन्ट चाँडै मेटिने समस्याबारे नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले ध्यानाकर्षण गराएका छन्। सेवा सुधारको यो प्रयासलाई अन्य सरकारी कार्यालयका लागि पनि उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्