सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित स्थानमा सारेको छ। गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बिगल र पाथरकाका पाँच घरपरिवारलाई गैरी गाउँमा अस्थायी टेन्ट निर्माण गरी बास बस्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए ।
पाथरकामा बस्तीमाथिबाट पहिरो आएको र उक्त पहिरोबाट ढुङ्गा झरेर बस्ती नै जोखिममा परेको, त्यसैगरी बिगलमा बस्तीमुनिबाट पहिरो गइ जोखिममा परेकोले अस्थायी टेन्ट स्थापना गरी सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ।
हाल टेन्टमा अस्थायी बास बस्ने गरी प्रत्येक परिवारलाई एक कोठाका हिसाबले उक्त स्थानमा सारिएको र अन्य स्थानका जोखिममा रहेका बस्तीहरूबाट पनि स्थानान्तरण गर्न पर्ने अवस्थामा रहेका घरहरूलाई खाली रहेको विद्यालय सार्ने योजना रहेको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए ।
वडा नम्बर ५ कै लामाचौरका तीन घरपरिवार जोखिममा रहेकाले उनीहरूलाई अन्य विद्यालयमा मार्च भई खाली रहेको भिमेश्वर आधारभूत विद्यालयको भवनमा सार्ने योजना रहेको तर स्थानीय आफैले अन्यत्र सुरक्षित स्थानमा बासस्थान निर्माण गर्न थालिएकोले उक्त कार्य अहिले स्थगित गरिएको पनि उनले जानकारी दिए ।
आज गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा उपाध्यक्ष गीता कुमारी नेपाल विपद फोकल पर्सन विज्ञान बोहरा पिस्कर प्रहरी चौकीका इन्चार्ज स्थानीय लगायतको उपस्थितिमा प्रभावित हरुलाई उक्त स्थानमा स्थानान्तरण गरिएको हो।















प्रतिक्रिया दिनुहोस्