श्याम शर्मा एल.सि हेलम्बु ।
हेलम्बु गाउँपालिका–७, सुल्सिङमा अवस्थित ब्ल्याल्चे झरना यतिबेला आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्न थालेको छ। तामाङ्ग संस्कृतिको अर्थ बोकेको ‘ब्ल्याल्चे’ नामले चिनिएको यस झरनाले अहिले प्राकृतिक सौन्दर्यका खोजीमा निस्केका घुमन्तेहरूको ध्यान तान्न थालेको छ।
अहिले झरनासम्म पुग्ने बाटोहरु विस्तार हुँदै छ जसले गर्दा पैदल यात्रु मात्र नभइ निजी सवारी र समूहगत भ्रमण गर्नेहरू पनि सहजै पुग्न थालेका छन् ।
काठमाडौंबाट झण्डै ३–४ घण्टाको यात्रा पश्चात् सहजै पुग्न सकिने र अत्यन्तै सुन्दर तथा शान्त वातावरणको अवलोकन गर्न पाइने भएकाले यो झरना पर्यटक आकर्षणको केन्द्र बन्दै गएको हो ।
पर्यटकहरू विशेष गरी सार्वजनिक बिदामा साथीभाइ तथा परिवारसहित झरनाको रमणीय दृश्य अवलोकन गर्दै मज्जा लिन यहाँ आइपुग्ने गरेका छन् ।
“काठमाडौंबाट नजिकै भएकाले पनि यो झरनामा पर्यटकको ओहिरो बढ्दो छ, अझ सडकको पहुँच पनि सहज बन्दै गएको ।” एक स्थानीयले भने ।
ब्ल्याल्चे झरनाको चिसो पानी, हरियाली घेरिएको वातावरण र शान्त परिवेशले मानिसको मन लोभ्याउने खालको अनुभव दिन्छ । गर्मी मौसममा शीतलताका लागि र सामाजिक सञ्जालका लागि आकर्षक तस्बिर खिच्नका लागि यो स्थान खास बनेको छ ।
हेलम्बुमा ब्ल्याल्चे झरना, हिमालयन ग्रेट ट्रेल, आमायाग्री, मेलारेपा गुफा, गुरु रेम्पोछेको ध्यानस्थल, जय बागेश्वरी भगवती मन्दिर लगायत थुप्रै धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षणहरू रहेका छन् ।
यी सम्पदाहरूले हेलम्बुलाई आन्तरिक तथा बाह्य पर्यटकको लागि अनुपम गन्तव्य बनाएका छन्।
हेलम्बुको प्राकृतिक सौन्दर्य र सांस्कृतिक गहिराइ अनुभव गर्न हजारौं पर्यटक हरेक वर्ष यहाँ आइपुग्छन् ।
“हामीले हाम्रो प्राकृतिक सम्पदालाई जोगाउँदै पर्यटनबाट आम्दानी गर्ने वातावरण बनाउँदैछौं।” पालिका प्रमुख निमा ग्याल्जेन शेर्पा भने ।
पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ।


















प्रतिक्रिया दिनुहोस्