काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोनमा दुई घण्टाभन्दा बढी कुराकानी गरेका छन्।
युक्रेन मुद्दा र व्यापारिक पक्षमा दुई नेताबीच टेलिफोनमा कुराकानी भएको बताइएको छ। उनीहरुबीचको कुराकानी खुला र सूचनात्मक भएको जनाइएको छ।
युक्रेनको रक्तपात अन्त्य गर्न टेलिफोन संवाद गरिएको बताउँदै ट्रम्पले पुटिनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य नेटो सदस्यहरूसँग पनि कुराकानी गर्ने बताएका छन्।
दुई घण्टा भन्दा बढीको कुराकानी भए तापनि त्यसको ठोस नतिजा के आयो भन्नेबारे कुनै पक्षले सार्वजनिक गरेका छैनन्।
टर्कीको राजधानी इस्तानबुलमा रुस र युक्रेनी उच्च अधिकारीहरूले युद्ध शुरु भएको तीन वर्षपछि पहिलोपटक शुक्रबार आमनेसामने कुराकानी गरेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबिओसमेत सहभागी भएको उक्त संवादपछि ट्रम्प र पुटिनबीच टेलिफोन संवाद भएको हो।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध रोकिनुपर्नेमा जोड दिएको खबरमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्