images
images

भारत र पाकिस्तानबीच सोमबार वार्ता हुने

काठमाडौँ । भारत र पाकिस्तानबीच सोमबार वार्ता हुने भएको छ ।
दुई साताअघि जम्मुकाश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बीचमा शनिबार पूर्णस्तरको युद्धविराम घोषणा गरेका थिए । आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई देशबीच सोमबार वार्ता हुने तय भएको थियो ।

भारतको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता हुने तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्ने छन् ।

images
images

भारत–पाक लामो समयदेखि जम्मु काश्मीर क्षेत्रको स्वामित्वलाई लिएर टकराव चल्दै आएको छ । यसपटक आमनेसामने युद्धमै उत्रिएका दुई देशलाई मानवीय क्षति हुने युद्धमा नजान विभिन्न मुलुकले आग्रह गर्दै आएका थिए ।
अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादका विषयमा वार्तामार्फत सुल्झाउन सुझावसहित युद्धविरामका लागि पहल गरेको थियो । उसले आवश्यक परेको खण्डमा जम्मु काश्मीर विवाद सल्टाउनका लागि आफू मध्यस्थता गर्न तयार रहेको भारत पाकिस्तानसमक्ष भनेको छ ।
शनिबार घोषित युद्धविरामसँगै भारत र पाकिस्तानका दुवै पक्षले आक्रमण प्रत्याक्रमण रोकेका छन् । वार्ताका विषयवस्तुबारे दुई देशका सरकार र सैन्य अधिकारी तयारीमा जुटेका छन् । भारत सरकारले वार्ताका विषयगत विषयमा परामर्श जारी राखेको छ । उता पाकिस्तान सरकार पनि भारतसँग आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने तयारीमा लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वार्तामा आतङ्कवादलाई प्रश्रय नदिने प्रतिबद्धता पाकिस्तानबाट लिन भारतले प्रयास गर्ने र पाकिस्तानले पनि आतङ्कवादका नाममा आफ्ना नागरिकमाथि जथाभावी आक्रमण नगर्ने प्रतिबद्धता लिन सक्ने अनुमान कूटनीतिज्ञले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्