नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले पालिकामा एक करोड ६३ लाख ५८ हजार २६६ रुपैयाँ अनियमितता भएको भन्ने समाचारको खण्डन गरेको छ।
गाउँपालिका अध्यक्ष झम्क नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा गत कार्तिक १३ गते प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचार तथ्यहीन, कपोलकल्पित र भ्रामक रहेको दाबी गरिएको छ।
गाउँपालिकाका अनुसार महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा समाचारमा उल्लेखित रकमसँग मेल खाने विवरण छैन। विगतका बेरुजु घटाउँदै लगेको उल्लेख गर्दै गाउँपालिकाले सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये सबैभन्दा कम ०.४६ प्रतिशत बेरुजु रहेको दाबी गरेको छ।
त्यस्तै, वित्तीय तथा संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा देशभरका ७५० गाउँपालिकामध्ये दोस्रो तथा संस्थागत क्षमता स्वमूल्याङ्कन (FRA) मा पनि दोस्रो स्थान हासिल गरेको विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाले पूर्वाग्रहपूर्ण र भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्दै निष्पक्ष, खोजमूलक र तथ्यमा आधारित पत्रकारिता गर्न अनुरोध गरेको छ। विकास निर्माण तथा सेवा प्रवाहका कमजोरी सुधार गर्दै सुशासन कायम गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ।












प्रतिक्रिया दिनुहोस्