images
images

गुटको राजनीतिभन्दा जनताको मुद्दा उठाउन कांग्रेस नेताहरूको जोड, कार्यशैली बदल्नुपर्ने निष्कर्ष

मेलम्ची । नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको गुटगत राजनीति र परम्परागत कार्यशैली अन्त्य गर्दै जनताका आधारभूत समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले पार्टीलाई जनतासँग जोड्न आत्मसमीक्षा, सुशासन र कार्यशैली परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ सिन्धुपाल्चोकद्वारा दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले औपचारिक बैठक र कार्यक्रमले मात्रै विकास सम्भव नहुने बताए ।  शिक्षा, स्वास्थ्य, रोजगारी र नागरिकका दैनिक समस्यालाई पार्टीको मुख्य एजेन्डा बनाउनुपर्ने उनको भनाइ थियो।

केन्द्रीय सदस्य प्रेमध्वज लामाले सत्ता र गुटको राजनीतिमा अल्झिँदा जनताका मुद्दा ओझेलमा परेको बताउँदै कांग्रेस जनताको घरदैलोबाट सञ्चालन हुनुपर्ने धारणा राखे ।

त्यस्तै शिवबहादुर सुनारले विगतका कमजोरीबाट पाठ सिक्दै आत्मसमीक्षा गर्नुपर्ने बताए । वंशलाल तामाङले लोकतन्त्रलाई जनताको सेवा र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए भने बलदेव तिमल्सिनाले सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता पार्टीको प्राथमिकता हुनुपर्ने बताए ।

महाधिवेशन प्रतिनिधि आईतमान तामाङले अधिकार गाउँसम्म पुर्‍याउनुपर्ने धारणा राख्नुभयो। कार्यक्रम समापन गर्दै क्षेत्रीय सभापति तथा प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ समीरले पार्टीभित्र आएको नयाँ ऊर्जालाई गाउँदेखि सहरसम्म विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा वक्ताहरूले बदलिएको कांग्रेस निर्माणका लागि नेतृत्व, कार्यकर्ता र संगठन सबैको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको साझा धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्