images
images

काँङ्ग्रेस सिन्धुपाल्चोक ईतर पक्षकाे सभापतिमा बालकृष्ण बस्नेत, २४ जिल्लामा अधिवेशन सम्पन्न

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको सिन्धुपाल्चोकमा संस्थापन र संस्थापन इतर दुवै पक्षले जिल्ला सभापतिमा बालकृष्ण बस्नेतलाई चयन गरेका छन्।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले यसअघि नै बस्नेतलाई जिल्ला सभापति चयन गरेको थियो। सोमबार बाह्रबिसेमा सम्पन्न संस्थापन इतर पक्षको अधिवेशनले पनि बाह्रबिसे नगरपालिकाका मेयरसमेत रहेका बस्नेतलाई निर्विरोध सभापति चयन गरेको हो।

इतर पक्षको उपसभापतिमा गोरखध्वज लामा र प्रदीप गुरुङ, सचिवमा निराजन चौलागाईं र रामचन्द्र बुढाथोकी तथा सहसचिवमा रूपक पुरी निर्वाचित भएका छन्।

यसैबीच, देउवा पक्षले हालसम्म देशभरका २४ जिल्लामा अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरेको छ। प्रदेशगत रूपमा कर्णालीमा ७, सुदूरपश्चिममा ४, कोशी, गण्डकी र लुम्बिनीमा ३–३ तथा मधेस र बागमतीमा २–२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

संस्थापन इतर पक्षले भने देशभर समानान्तर अधिवेशन सञ्चालन गरिरहेको छ। जिल्ला अधिवेशनपछि मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

यसरी कांग्रेसका दुवै पक्षले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाउँदा सिन्धुपाल्चोकमा भने दुवै पक्षको सभापतिमा एउटै व्यक्ति चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्