सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलामा रहेको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले हिमालको शिखरमा पुगेर पहिलो आरोहणको इतिहास बनाएका हुन्। शिखरमा पुगेर आरोही टोली सुरक्षित रूपमा आधारशिविर फर्किएको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जानकारी दिएका छन्।
जुगल–२ को सफल आरोहणले सिन्धुपाल्चोकको जुगल क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ। यसले जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि समेत सम्भावना बढाएको अध्यक्ष तामाङले बताएका छन्।
गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यस उपलब्धिले जुगल हिमशृङ्खलाको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
जुगल गाउँपालिकाले पछिल्लो समय हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको छ। गाउँपालिकाले जुगल भ्रमण वर्ष २०८३ सञ्चालन गर्नुका साथै गन्तव्य जुगलु अभियानमार्फत यहाँका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ।
यसअघि २०७५ चैत २६ गते माया गुरुङको नेतृत्वमा ६ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते शर्मिला लामाको नेतृत्वमा ६ हजार १८४ मिटर अग्लो जुगल–३ हिमालको आरोहण भएको थियो। त्यस्तै, २०८१ वैशाखमा विदेशी आरोहीले जुगल–१ को पहिलो सफल आरोहण गरेका थिए।
जुगल–२ को सफल आरोहणसँगै यस क्षेत्रको पर्वतीय पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना थपिएको छ।













प्रतिक्रिया दिनुहोस्