images
images

नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनबाट सिन्धुपाल्चोकका ३ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सिन्धुपाल्चोकका तीन नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट वंशलाल तामाङ र डाक्टर प्रेमध्वज लामा तथा दलित क्लस्टरबाट शिवबहादुर सुनार निर्वाचित भएका हुन् । तीनैजनाको विजयले पार्टीको केन्द्रीय नेतृत्वमा सिन्धुपाल्चोको प्रतिनिधित्व थप बलियो बनाएको छ।

निर्वाचन परिणाम अनुसार वंशलाल तामाङले १७५६ मत प्राप्त गर्दै आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय हासिल गरेका छन्। उक्त प्लास्टरमा १२ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था थियो। तामाङले प्राप्त गरेको मतले उनलाई जनजाति तर्फ निर्वाचित उम्मेदवारको सूचीमा समेटेको हो।

त्यस्तै डाक्टर प्रेमध्वज लामाले २५०५ मत प्राप्त गर्दै सोही आदिवासी जनजाति क्लस्टरबाट तेस्रो स्थान हासिल गरेका छन्। लामाको विजयलाई जिल्लाको कांग्रेस राजनीतिमा महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ तामाङ र लामा यसअघि १४औं महाधिवेशनमा जिल्ला सभापति पदका लागि प्रतिस्पर्धा गरेका नेताहरु हुन् ।

स्थानीय तहको राजनीतिबाट उदाएका तामाङ तत्कालीन जिल्ला विकास समितिका सदस्य हुँदै इन्द्रावती गाउँपालिकाको अध्यक्ष बनेका थिए।

उनी गाउँपालिका राष्ट्रिय महासङ्घको महासचिव समेत भइसकेका नेता हुन्। कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सक्रिय रहेका उनले १५ औं महाधिवेशनका लागि प्रतिनिधि चयन हुँदा सिन्धुपाल्चोकबाट सर्वाधिक मत प्राप्त गरेका थिए। प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका उनी युवराज दुलालसँग पराजित भएका थिए।

यसैगरी शिवबहादुर सुनारले दलित क्लस्टरबाट १९१३ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजय हासिल गरेका छन्। उनको विजयले पार्टीको केन्द्रीय नेतृत्वमा दलित समुदायको प्रतिनिधित्व थप बलियो बनाएको छ। सुनार यसअघि विशेष महाधिवेशनबाट समेत केन्द्रीय सदस्य बनेका थिए।

पार्टी संगठनका विभिन्न तहमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका सुनारको विजयलाई संगठनात्मक अनुभव राजनीतिक सक्रियता र समावेशी नेतृत्व प्रतिको विश्वासका रुपमा हेरिएको छ। लामो समयदेखि नेपाली कांग्रेसको संगठन सुदृढीकरण तथा लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा सक्रिय रहँदै आएका सुनारले आफ्नो राजनीतिक यात्रामा आर्जन गरेको अनुभवलाई अब केन्द्रीय तहमा उपयोग गर्ने अवसर पाएका छन् ।

जिल्लाबाट तिनै नेताको विजयले कांग्रेसको संगठनात्मक प्रभाव र केन्द्रीय तहमा जिल्लाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। साथै आदिवासी जनजाति र दलित समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरूको सफलताले पार्टीभित्र समावेशी नेतृत्वको महत्वलाई समेत उजागर गरेको छ।

 

यस्तै सिन्धुपाल्चोकबाटै खुल्लातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका बलदेव तिमल्सिना पनि जित नजिक रहेका छन् । ६ हजार ४०० मतगणना सकिँदा तिमल्सिना २७७९ मत सहित २० औँ नम्बरमा छन् । ४५ जना निर्वाचित हुनेमा ८२ जना उम्मेदरी परेको थियो । अहिले मतगणना जारी छ । तिमल्सिनाले पनि जित हात पारेमा सिन्धुपाल्चोकबाट नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनबाट चारजना केन्द्रीय सदस्यहरू निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्