images
images

कांग्रेस इतर पक्ष: सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को सभापतिमा प्रकाश बस्नेत चयन, मेलम्ची नगर सभापतिमा सरोज बस्नेत

मेलम्ची। नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षीय सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । मेलम्चीमा आज सम्पन्न अधिवेशनले प्रकाश बस्नेतलाई क्षेत्रीय सभापतिमा चयन गरेको हो । अधिवेशनले क्षेत्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले पार्टीको संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच एकता कायम गर्ने र आगामी दिनमा पार्टीलाई जनतामाझ अझ प्रभावकारी बनाउने अपेक्षासहित नयाँ नेतृत्व चयन गरेको हो ।

 

अधिवेशनबाट क्षेत्रीय सचिवमा राजकुमार रायमाझी र अजय लामा चयन हुनुभएको छ । त्यसैगरी सहसचिवमा बलराम बानियाँ र मानबहादुर तामाङ चयन हुनुभएको महाधिवेशन प्रतिनिधि सुशान्त गिरिले जानकारी दिनुभयो । अधिवेशनले क्षेत्रीय कार्यसमिति पनि चयन गरेको छ ।

यसैगरी नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर २ (क) को सभापतिमा सूर्यप्रसाद कोइराला र प्रदेशसभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा रामशरण गिरी चयन हुनुभएको छ ।

 

क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिसमेत छनोट गरेको छ । महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका प्रतिनिधिहरूले पार्टीको आगामी महाधिवेशनमा सहभागी हुँदै नीति, नेतृत्व र संगठनसम्बन्धी विषयमा भूमिका निर्वाह गर्नेछन् ।

यसैबीच, मेलम्ची नगरपालिकाको नगर सभापतिमा सरोज बस्नेत चयन हुनुभएको छ । नगर नेतृत्वमा नयाँ जिम्मेवारी प्राप्त गरेसँगै बस्नेतले मेलम्ची नगरपालिकाभित्र पार्टी संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय तहदेखि क्षेत्रीय तहसम्म पार्टी संगठनलाई सक्रिय बनाउने, नेता तथा कार्यकर्ताबीच सहकार्य बढाउने र जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने जिम्मेवारी नयाँ नेतृत्वसामु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्