images
images

चाडपर्वमा रगतको अभाव हुन नदिन चौतारामा ३४ जनाले गरे रक्तदान

सिन्धुपाल्चोक । दशैँ–तिहार नजिकिँदै गर्दा हुन सक्ने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले सिन्धुपाल्चोकको चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७ महिलासहित ३४ जनाले रक्तदान गरेका छन्।

असोज २३ गते शुक्रबार चौतारा टुँडिखेलस्थित फल्चामा आयोजित कार्यक्रमले चाडपर्वका बेला आकस्मिक दुर्घटना तथा बिरामीको उपचारका लागि आवश्यक पर्ने रगतको आपूर्ति सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चाडपर्वका समयमा नियमित रक्तदान कार्यक्रम कम हुने र रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको हो। रगतको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आयोजित कार्यक्रममा रक्तदाताले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

सिन्धुपाल्चोक खेलकुद विकास समितिको आयोजना, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा सिन्धुपाल्चोकको सहआयोजना तथा चौतारा अस्पताल र चौतारा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

आयोजकले रक्तदानलाई मानवीय सेवासँगै सामाजिक जिम्मेवारीका रूपमा लिन आग्रह गरेका छन्। साथै, स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदानमा सहभागी हुन प्रेरित गर्दै चाडपर्वका बेला रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्