images
images

सिन्धुपाल्चोकमा संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी चारदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सिन्धुपाल्चोक । जिल्लाका १२ वटै स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी चारदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ।

 

बागमती प्रदेश सरकारको प्रदेश स्वास्थ्य तालिम केन्द्रद्वारा आयोजित तालिम चौतारा अस्पतालको तालिम हलमा सञ्चालन भइरहेको छ। तालिममा प्राविधिक सहयोग जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गरेको छ भने फेयरमेड र महिला आत्मनिर्भर्ता केन्द्रको आर्थिक सहयोग रहेको छ।

 

तालिममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ नर्सिङ जनशक्ति सहितको टोलीले प्रशिक्षण दिइरहेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिए । तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले प्रशिक्षणपछि आ–आफ्नो स्वास्थ्य संस्थामा स्थलगत कोचिङ तथा मेन्टरिङ गर्नेछन्। साथै, अन्य स्वास्थ्यकर्मीलाई समेत फोहोरमैला व्यवस्थापन र संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंका अनुसार प्रदेशभरिका ५० शय्याका अस्पतालमध्ये एम एस एस मूल्यांकनमा उत्कृष्ट रहेको चौतारा अस्पतालमा संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको हो।

 

स्वास्थ्य संस्थामा संक्रमणको जोखिम न्यूनीकरण, सुरक्षित फोहोर व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको उद्घाटनमा चौतारा अस्पतालका प्रमुख बिबेक भण्डारी, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, फेयरमेडका टिम लिडर डम्बर सिं गुरुङ, मांकका कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङ लगायत सहभागी हुनुहुथ्यो ।

प्रतिक्रिया दिनुहोस्