images
images

मेलम्चीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका सामान जफत

मेलम्ची ।  उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न मेलम्ची नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। नगरपालिकाले असोज २० देखि २२ गतेसम्म १३ वटै वडाका ५५५ भन्दा बढी उद्योग तथा व्यवसायको अनुगमन गर्दै २ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरेको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइलाका अनुसार अनुगमनका क्रममा एक जना व्यवसायीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। मेडिकल, भेटेरिनरी, पसल तथा अन्य व्यवसायमा बिक्री भइरहेका वस्तुको गुणस्तर, उपभोग्य मिति, मूल्यसूची र व्यवसाय सञ्चालनको अवस्थाबारे जाँच गरिएको थियो।

उपप्रमुख उमा प्रधानको संयोजकत्वमा चार टोली बनाएर गरिएको अनुगमनमा व्यवसायीलाई कानुनी मापदण्ड पालना गर्न र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराइएको थियो।

अनुगमनमा नेपाल प्रहरी, मेलम्ची नगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सञ्चारकर्मी तथा नगरपालिकाका कर्मचारी सहभागी थिए।

नगरपालिकाले बजारमा हुने अनियमितता नियन्त्रण गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन अनुगमनलाई निरन्तरता दिने जनाएको छ। साथै, सामान खरिद गर्दा म्याद, मूल्य र गुणस्तर जाँच गर्न उपभोक्तालाई आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्