सिन्धुपाल्चाेक । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाले ७३ बेपत्ता परिवार र एक मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा भदौ १५ गते बसेको आकस्मिक गाउँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। रकम मृतक तथा बेपत्ता व्यक्तिका संरक्षक, अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खातामार्फत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
सडक तथा पुल अवरुद्ध भएर जोखिममा परेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यकताअनुसार हेलिकोप्टरलगायत हवाई साधन प्रयोग गर्ने निर्णय पनि गरिएको छ। उद्धारका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक दाहालका अनुसार वडा कार्यालयमार्फत प्रभावित तथा सम्पर्कविहीन नागरिकको विवरण सङ्कलन भइसकेको छ। पीडित परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन समन्वय भइरहेको छ।
यसैगरी खोजी, उद्धार, उपचार, सुरक्षित स्थानान्तरण र पुनःस्थापनाको आवश्यक खर्च विपद् कोषबाट व्यहोर्ने निर्णय गरिएको छ। गाउँपालिकाले दाता तथा संघसंस्थालाई समेत कोषमा सहयोग गर्न आह्वान गरेको छ।














प्रतिक्रिया दिनुहोस्