images
images

खानेपानी र सिँचाइ क्षेत्रमा बागमती सरकारको उल्लेखनीय प्रगति, ८६.७७ प्रतिशत पुँजीगत बजेट खर्च

बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत बजेट कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। मन्त्रालयले कुल ८ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ७ अर्ब ३९ करोड ६० लाख रुपैयाँ अर्थात् ८६.७७ प्रतिशत खर्च गरेको जनाएको छ।

वार्षिक प्रगति प्रतिवेदनअनुसार खानेपानी क्षेत्रमा १६ हजार ८६१ नयाँ निजी धारा जडान गरिएको, ४६७ वटा खानेपानी आयोजना र १४८ वटा साना खानेपानी स्किम सम्पन्न भएका छन्। साथै ५८७ किलोमिटर ट्रान्समिसन लाइन, १ हजार ७४ किलोमिटर वितरण पाइपलाइन, ३७० वटा इन्टेक/सम्पवेल तथा ५१४ वटा पानीपोखरी निर्माण गरिएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी दिएका छन्।

सिँचाइतर्फ ७३२ वटा आयोजना सम्पन्न भएका छन्। यस अवधिमा २०१ किलोमिटर आरसीसी कुलो, १४३ किलोमिटर एचडीपीई पाइप बिछ्याइएको छ भने थप १ हजार ७०७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। यद्यपि मन्त्रालयअन्तर्गत ९१ करोड १५ लाख रुपैयाँ बेरुजु फर्छ्यौट हुन बाँकी रहेको छ। आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्मको कुल बेरुजु १ अर्ब ३५ करोड १९ लाख रुपैयाँमध्ये हालसम्म ४४ करोड ४ लाख रुपैयाँ मात्र फर्छ्यौट भएको छ। बाँकी बेरुजुमध्ये ७२ करोड ७२ लाख रुपैयाँ नियमित गर्नुपर्ने, ७ करोड ७४ लाख रुपैयाँ असुल गर्नुपर्ने र १० करोड ६८ लाख रुपैयाँ पेस्की बेरुजु रहेको छ। सबैभन्दा बढी बेरुजु खानेपानी तथा सरसफाइ डिभिजनमा ६४ करोड ८० लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ। वार्षिक समीक्षा कार्यक्रममा प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले मन्त्रालयले नीतिगत र भौतिक दुवै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।

उनले क्रमागत तथा बहुवर्षीय आयोजनालाई प्राथमिकता दिँदै प्रभावहीन टुक्रे योजना कटौती गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए। हाल मन्त्रालयमा २१००–२२०० क्रमागत आयोजना रहेको उल्लेख गर्दै ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गरिने बताए।

साथै मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुगेको र चाँडै कार्यान्वयनमा ल्याइने जानकारी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्