काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ। नेता अर्जुननरसिंह केसीलाई सिन्धुपाल्चोक जिल्लाको जिम्मेवारी दिइएको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको हो।
निर्णयअनुसार अर्जुननरसिंह केसीले अब सिन्धुपाल्चोकमा पार्टी संगठन सुदृढीकरण, समन्वय तथा सम्पर्क विस्तारको जिम्मेवारी सम्हाल्नेछन्।
प्रमुख सचेतक बासना थापाका अनुसार जिम्मेवारी प्राप्त सांसदहरूले तोकिएको जिल्लामा पार्टी गतिविधि, संगठनको अवस्था तथा समन्वयका विषयमा नियमित रूपमा काम गर्दै हरेक तीन–तीन महिनामा समग्र प्रतिवेदन संसदीय दलको कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
कांग्रेसले सांसद नभएका जिल्लामा संगठनलाई थप सक्रिय, प्रभावकारी र व्यवस्थित बनाउन यो जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्