सिन्धपाल्चोक । सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाभरका सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका नियमित खोप पूरा गरेपछि यो घोषणा गरिएको हो। यससँगै जिल्लाले बालबालिकामा खोपको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सुरक्षातर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंका अनुसार १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका १४ प्रकारका नियमित खोप प्राप्त गरेका छन्। जिल्लाभर खोप पाउनुपर्ने लक्षित समूहका ६० हजार ११ जनाले आवश्यक सबै खोप सेवा लिएको तथ्यांक सार्वजनिक गरिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका १०३ वडामा रहेका १५१ स्वास्थ्य संस्था र ७११ जना महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनले अभियान सफल भएको जानकारी दिइयो। नियमित खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयले महत्वपूर्ण भूमिका खेलेको पनि कार्यक्रममा उल्लेख गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठले पूर्ण खोप सुनिश्चित हुनु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यस उपलब्धिलाई दीगो बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे। उपप्रमुख पदमनाथ नेपालले नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यको आधार भएकाले यसको गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिनुपर्ने बताए।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले स्थानीय तहले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ अभियानलाई प्राथमिकतामा राखेर काम गरेको बताए। मेलम्ची नगरपालिकाकी उपप्रमुख इन्दिरा प्रधानले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अभिभावकको सक्रिय सहभागिताले अभियान सफल बनेको उल्लेख गरिन्।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. रुपेश तिमिल्सिनाले नियमित खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने भएकाले खोपको निरन्तरता, निगरानी र अभिलेखीकरणलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। सो अवसरमा बागमती प्रदेश सरकारले प्रदान गरेको पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिलाई हस्तान्तरण गरिएको थियो। अभियान सफल बनाउन योगदान पुर्याउने स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो।














प्रतिक्रिया दिनुहोस्