images
images

देशव्यापी विस्तारको लक्ष्यसहित मेलम्चीबाट क्याच एण्ड सर्व बल अभियान सुरु

मेलम्ची । क्याच एण्ड सर्व बल नेपालले खेलको प्रवर्द्धन र देशव्यापी संस्थागत विस्तारको अभियानलाई सिन्धुपाल्चोकको मेलम्चीबाट अघि बढाएको छ। पहिलोपटक मेलम्चीमा आयोजित डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रममार्फत संस्थाले विद्यालय, स्थानीय तह र समुदायस्तरसम्म खेल विस्तार गर्ने योजना सार्वजनिक गरेको हो।

संस्थाकी अध्यक्ष कदम्बरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा क्याच एण्ड सर्व बल खेलको परिचय, महत्व र भविष्यका योजनाबारे जानकारी दिइनुका साथै सहभागीहरूलाई व्यावहारिक अभ्यासमार्फत खेलको अनुभव गराइएको थियो।

images
images

प्रमुख अतिथि तामाङले नयाँ खेलकुद गतिविधिले अनुशासन, नेतृत्व विकास र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने बताउँदै स्थानीय तहले यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उपाध्यक्ष अधिकारीले ग्रामीण क्षेत्रमा खेलकुदको पहुँच विस्तारसँगै महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिए।

संस्थाले आगामी दिनमा विभिन्न जिल्लामा प्रशिक्षण, प्रतियोगिता र शाखा विस्तारका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। आयोजकका अनुसार मेलम्चीबाट सुरु गरिएको यो अभियानले क्याच एण्ड सर्व बललाई राष्ट्रियस्तरमा लोकप्रिय खेलका रूपमा स्थापित गर्न तथा नयाँ खेल संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्