हेलम्बु । हेलम्बु गाउँपालिका र टर्न की डेभलप्मेन्ट ग्रुपबीच हेलम्बुका विद्यार्थीहरूको गुणस्तरीय उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि प्रारम्भिक सहमति भएको छ। दुवै पक्षबीच भएको समझदारीअनुसार आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा सामाजिक–आर्थिक रूपमा पछाडि परेका विद्यार्थीलाई छात्रवृत्तिमार्फत उच्च शिक्षाको अवसर उपलब्ध गराइनेछ।
कार्यक्रमले उच्च शिक्षामा पहुँच बढाउनुका साथै उद्यमशीलता, नवप्रवर्तन, रोजगारीमुखी सीप विकास तथा विद्यालयमा आधारित दिगो कृषि र पशुपालन उद्यमलाई समेत प्रवर्द्धन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जन शेर्पाले बताए ।
यसैगरी स्नातक तहदेखि इन्जिनियरिङलगायत प्राविधिक विषयमा अध्ययनका लागि आवश्यक सहयोग उपलब्ध गराई हेलम्बुलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखिएको छ।
समझदारीअनुसार करिब १७ करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने विषयमा प्रारम्भिक सहमति भएको गाउँपालिकाले जनाइएको छ। गाउँपालिकाको यो पहलले हेलम्बुका प्रतिभाशाली तथा आर्थिक रूपमा विपन्न विद्यार्थीको उच्च शिक्षामा पहुँच विस्तार गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।













प्रतिक्रिया दिनुहोस्