images
images

विपद् व्यवस्थापनमा स्वयंसेवकको भूमिका सुदृढ गर्न दुईदिने कार्यक्रम सुरु

नवलपुर । इन्द्रावती गाउँपालिकाको आयोजनामा तथा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा स्वयंसेवक ब्युरो गठन, परिचालन तथा क्षमता अभिवृद्धि कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रम आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुनेछ।

नेपाल रेडक्रस सोसाइटीका भरत कोइराला र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका रविराज धितालले प्रशिक्षण दिइरहनुभएको छ। प्रशिक्षणमा स्वयंसेवकको परिचय, भूमिका र जिम्मेवारी, प्राथमिक उपचारका विधि, विपद् जोखिमका हिसाबले नेपालको अवस्था, पूर्वसूचना प्रणाली तथा प्राथमिक उपचार र आकस्मिक उपचार सेवा प्रणाली लगायतका विषय समेटिएका छन्।

कार्यक्रमको उद्घाटनका अवसरमा इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशीनाथ आचार्यले विपद् सूचक समूह विगतमा पनि गठन गरिएको स्मरण गराउँदै सूचना प्रवाहलाई सहज बनाउने, विपद् व्यवस्थापनका लागि सक्षम र दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले विपद् स्वयंसेवकका रूपमा सेवा गर्ने अवसर गौरवको विषय भएको उल्लेख गर्दै कार्यक्रमलाई अझ उपलब्धिमूलक बनाउन सहभागीहरूलाई सक्रिय सहभागिता र रचनात्मक सुझाव दिन आग्रह गरे।

कार्यक्रममा गाउँपालिकाका प्रत्येक वडाबाट ३/३ जना प्रतिनिधि, नेपाल प्रहरी, पत्रकार तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको छ।

दुईदिने यस कार्यक्रमले समुदायस्तरमा दक्ष स्वयंसेवक तयार गरी विपद् पूर्वतयारी, उद्धार, राहत तथा सूचना व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्