नवलपुर — इन्द्रावती गाउँपालिका–३ को नवनिर्मित प्रशासनिक भवन तथा सेवा केन्द्रको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, जग्गादाता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताप्रति धन्यवाद व्यक्त गर्दै गाउँपालिकाका समस्या आफूलाई जानकारी रहेको बताए। प्रभावकारी सेवा प्रवाहका लागि व्यवस्थित कार्यालय आवश्यक रहेको उल्लेख गर्दै विगतमा केही कमी–कमजोरी रहे पनि अब प्रचलित ऐन, नियम र कानुनको परिधिभित्र रहेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।
उनले भवन निर्माण मात्र उपलब्धि नभई त्यसबाट गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री सेवा दिन सके मात्रै नयाँ भवनको औचित्य पुष्टि हुने धारणा राखे। लिफ्टिङ खानेपानी तथा सिँचाइ योजनाका लागि बजेट व्यवस्था भइसकेको जानकारी दिँदै ती समस्या छिट्टै समाधान गरिने बताए। गाउँपालिका समग्र विकासका लागि निरन्तर काम गरिरहेको पनि उनले स्पष्ट पारे।
वडा नं. ३ का अध्यक्ष तथा कार्यक्रमका सभापति भीमसेन थापाले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रारम्भिक सहमतिअनुसार सबै पक्षसँगको सहकार्यबाट निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। भवन आफ्नो कार्यकालमा बने पनि यो सम्पूर्ण वडावासीको साझा सम्पत्ति भएको उल्लेख गर्दै राजनीतिक विचारभन्दा माथि उठेर विकासका लागि सहमति र सहकार्य आवश्यक रहेको धारणा राखे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जग्गादाता तथा समन्वयमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ भवनबाट जनमुखी, पारदर्शी र चुस्त सेवा प्रवाह गरिने विश्वास व्यक्त गरे। सेवा प्रवाहका क्रममा कुनै समस्या आए तत्काल जानकारी गराउन पनि उनले आग्रह गरे।
न्यायिक समितिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशीनाथ आचार्यले डिजिटल प्रविधिको प्रयोग बढाउँदै नागरिकले घरबाटै सेवा लिन सक्ने वातावरण विकास गर्नुपर्ने धारणा राखे। भवन वडाको केन्द्र भागमा रहेकाले सबै नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे।
वडा नं. २ का अध्यक्ष श्यामबहादुर गिरीले सेवा केन्द्रबाट सेवा प्रवाह गर्दा केही व्यावहारिक चुनौती आउन सक्ने बताए। वडा नं. ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले सबैको सहयोगले भवन निर्माण सम्भव भएको उल्लेख गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। गाउँपालिका सहअस्तित्व, सहकार्य र सहमतिका आधारमा अघि बढेकाले वडा कार्यालयले पनि त्यही भावनाअनुसार काम गर्नुपर्ने धारणा राखे।
वडा नं. ९ का अध्यक्ष बाबुराम लामाले सुविधा सम्पन्न भवनले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै यसले उत्कृष्ट वडा निर्माणमा सहयोग पुग्ने बताए।
पूर्व वडा अध्यक्ष देवप्रसाद बानियाँले भवन निश्चित सर्तसहित निर्माण भएकाले ती सर्तहरूको पालना हुनुपर्ने बताए। सबै नागरिकको सहजता र सुविधाका लागि काम गरिएको उल्लेख गर्दै सहमतिको वातावरण बिथोलिए नयाँ भवनबाट प्रभावकारी सेवा प्रवाह गर्न कठिन हुने चेतावनी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका वडा नेता गणेशबहादुर ठकुरीले नयाँ भवन निर्माण सम्पन्न हुँदा नागरिक खुसी भएको बताए। राजनीतिक खिचातानीका कारण निर्माणमा ढिलाइ भएको उल्लेख गर्दै भवनसँगै विकास निर्माण र सेवा प्रवाह पनि प्रभावकारी बनाउनुपर्ने सुझाव दिए।
स्थानीय समाजसेवी भूपेन्द्र बानियाँले विभिन्न उतारचढावका बीच सहमतिका आधारमा भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैको साझा दायित्व रहने धारणा राखे।
नेकपा (एमाले) वडा कमिटी अध्यक्ष विदुर बानियाँले भवन निर्माणका लागि निकै संघर्ष गर्नुपरेको स्मरण गर्दै अन्ततः भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गरे। विगतका मतभेद बिर्सेर अब प्रभावकारी र नागरिकमैत्री सेवा दिनुपर्नेमा जोड दिए।
त्यसैगरी, श्रम संस्कृति पार्टीका तर्फबाट कृष्ण बानियाँले स्थानीय सरकारले विभिन्न भौतिक संरचनाहरू निर्माण गरेको उल्लेख गर्दै ती संरचनाको संरक्षण र दीगो सञ्चालनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे। निर्माण गरिएका संरचनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके मात्रै त्यसको वास्तविक उपलब्धि हासिल हुने उनले बताए।
कार्यक्रममा सहभागी अधिकांश वक्ताले नवनिर्मित भवनबाट पारदर्शी, गुणस्तरीय, प्रभावकारी तथा प्रविधिमैत्री सेवा प्रवाह गर्दै वडा र गाउँपालिकाको समग्र विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिएका थिए।














प्रतिक्रिया दिनुहोस्