मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा बागमती प्रदेशका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको प्रथम प्रदेशस्तरीय भेला सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य युवराज दुलाल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
भेलामा उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका, अधिकार, जिम्मेवारी र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। साथै, स्थानीय सरकार सञ्चालनका क्रममा देखिएका साझा चुनौती, अन्तरपालिका समन्वय, अनुभव आदानप्रदान तथा महिला नेतृत्वको सशक्तीकरणका विषयमा विशेष जोड दिइएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि युवराज दुलालले स्थानीय सरकारलाई नागरिकमैत्री, उत्तरदायी र प्रभावकारी बनाउन उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता भेलाले स्थानीय तहबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
भेलामा स्थानीय शासन, न्यायिक समिति सञ्चालन, महिला नेतृत्वको सशक्तीकरण तथा स्थानीय विकासका समसामयिक विषयमा विभिन्न सत्रमार्फत विस्तृत छलफल गरी ‘१० बुँदे मेलम्ची प्रतिबद्धता पत्र–२०८३’ जारी गरिएको छ। कार्यक्रमको सहजीकरण कानुन व्यवसायी तथा स्थानीय शासन विज्ञ उद्वव प्रसाद अधिकारीले गर्नुभएको थियो।















प्रतिक्रिया दिनुहोस्