images
images

इन्द्रावतीमा रेष्टको सामाजिक परीक्षण सम्पन्न, कार्यक्रमको निरन्तरतामा जोड

नवलपुर, असार १२ – ग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेष्ट) को सामाजिक परीक्षण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण Himalayan Growth Minds का सहजकर्ता तनुजा बस्नेतले गरेका थिए ।

कार्यक्रममा रेष्टले हालसम्म सञ्चालन गरेका कार्यक्रम, समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशाबारे जानकारी प्रस्तुत गरिएको थियो। विसं २०४९ सालमा स्थापना भएको रेष्टले हाल १४ जिल्लामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको जानकारी दिइयो। संस्थामार्फत हालसम्म २८ हजारभन्दा बढी विद्यार्थीले सहयोग प्राप्त गरिसकेको र जोखिममा परेका बालबालिकाको शिक्षा तथा स्वास्थ्य अधिकारको संरक्षणका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरिएको थियो। संस्थाले दिगो विकास लक्ष्य प्राप्तिमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको धारणा राखिएको थियो।

images
images

सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा संस्थाले कार्यक्रम सञ्चालन गरिरहेको र जिल्लामा हाल १ हजार १५ जना विद्यार्थीले सहयोग पाइरहेको जानकारी दिइयो। इन्द्रावती गाउँपालिकामा मात्रै २ सय ६६ जना विद्यार्थी लाभान्वित भइरहेको तथ्य प्रस्तुत गरिएको थियो।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपाल ले गाउँपालिकाले १३ वटा क्षेत्रमा काम गरिरहेको र सबै क्षेत्रलाई एकैपटक अघि बढाउन सम्भव नभएकाले प्राथमिकता निर्धारण गरेर काम गरिरहेको धारणा राखे। उनले शैक्षिक क्षेत्र गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै रेष्टलाई गाउँपालिकाको शैक्षिक क्षेत्रको पिलरका रूपमा चित्रण गरे। गाउँपालिकाको शैक्षिक उपलब्धिमा रेष्टको ठूलो योगदान रहेको धारणा व्यक्त गर्दै संस्थाका कार्यक्रमहरूलाई गाउँपालिकाकै कार्यक्रमका रूपमा ग्रहण गरिएको स्पष्ट पारे। गाउँपालिकाले हालसम्म आठ वटा संस्थासँग साझेदारीमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै संस्थाले कार्यक्षेत्र विस्तार गर्न र सबै संघसंस्थासँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

रेष्टका कोषाध्यक्ष सानुबाबा घिमिरे ले संस्थाहरूको सहयोगमा मात्र निर्भर हुने अवस्था सिर्जना हुन नहुने धारणा राखे। सहयोग पाए मात्रै बालबालिकालाई विद्यालय पठाउने र सहयोग नपाए पढाइबाट वञ्चित गर्ने सोच गलत भएको स्पष्ट पारे। संस्थाका कार्यक्रम फेज आउट हुन लागेको नभई समयअनुसार परिमार्जन र परिष्कृत भएर आउन सक्ने धारणा पनि व्यक्त गरे।

इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य ले संस्थाको कामप्रति सन्तुष्टि व्यक्त गर्दै यसले समुदायमा सकारात्मक प्रभाव छोडेको धारणा राखे। संस्थाका कार्यक्रम भविष्यमा फेज आउट हुन सक्ने चर्चा चलिरहेका बेला त्यसपछि सहयोगको जिम्मेवारी कसले लिने भन्ने चिन्ता अहिले नै बढ्न थालेको उल्लेख गरे। यस विषयमा गाउँपालिकाले पनि सोच्नुपर्ने अवस्था आएको बताउँदै आवश्यक परे दातृ निकायहरूसँग समेत समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। संस्थाले गरेका कामहरू गाउँपालिका र लाभग्राहीहरूले लामो समयसम्म सम्झिरहने विश्वास समेत व्यक्त गरे।

पैरवी समूह सिन्धुपाल्चोकका यज्ञ दङ्गाल ले संस्थाले पालिकासँग समन्वय गरेर काम गरिरहेको उल्लेख गर्दै कार्यक्रमको दीर्घकालीन निरन्तरताका लागि पालिकाले बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

भिमेश्वरी माध्यमिक विद्यालय का प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठ ले रेष्टको कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे। यस कार्यक्रमले धेरै बालबालिकालाई शिक्षाबाट वञ्चित हुनबाट जोगाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराई ले स्वागत मन्तव्यसहित इन्द्रावती गाउँपालिकामा रेष्टले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र प्रभावबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्