सिन्धुपाल्चोक, असार १० – वर्षायाममा झाडापखाला, टाइफाइडलगायत पानीजन्य रोगको जोखिम बढ्ने भएकाले सुरक्षित तथा गुणस्तरीय खानेपानीमा विशेष ध्यान दिन सरोकारवालाहरूले जोड दिएका छन्।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा बुधबार चौतारामा सम्पन्न खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित खानेपानी योजना निर्माण, नियमित गुणस्तर परीक्षण, प्रभावकारी अनुगमन तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याए।
कार्यक्रममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ तथा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका, २०७९ का मुख्य व्यवस्थाबारे जानकारी दिइयो। नागरिकले उपभोग गर्ने पानी रङ, गन्ध र स्वादका दृष्टिले स्वीकार्य हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने सूक्ष्मजीव तथा रासायनिक पदार्थबाट सुरक्षित हुनुपर्नेमा जोड दिइयो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईले मापदण्डअनुसार खानेपानीमा भौतिक, रासायनिक तथा सूक्ष्मजीवजन्य सूचकहरूको नियमित परीक्षण गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिइन्। विशेषगरी पानीमा ई.कोलाई र दिसाजन्य कोलिफर्म जीवाणु शून्य हुनुपर्ने तथा धमिलोपन, पीएच, अवशिष्ट क्लोरिन, फलाम, आर्सेनिक, अमोनिया, नाइट्रेट र फ्लोराइडलगायतका सूचक तोकिएको सीमाभित्र रहनुपर्ने बताइन्।
उनले निर्देशिकाअनुसार खानेपानी वितरण गर्ने संस्था र सम्बन्धित निकायले पानीको स्रोतदेखि उपभोक्ताको घरसम्मको सम्पूर्ण प्रणालीमा नियमित परीक्षण, अभिलेखीकरण, निगरानी र सुधारात्मक उपाय लागू गर्नुपर्ने बताए। प्रत्येक खानेपानी आयोजनाले अनिवार्य रूपमा खानेपानी सुरक्षा योजना तयार गरी मुहान, संकलन, प्रशोधन, भण्डारण र वितरणका प्रत्येक चरणमा सम्भावित जोखिम पहिचान गरी न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुपर्ने जानकारी दिइन्।
वर्षायाममा खानेपानीका मुहान, ट्यांकी तथा वितरण प्रणाली दूषित हुने सम्भावना अत्यधिक रहने भएकाले यस विषयलाई सामान्य रूपमा लिन नहुने उनले बताए। सुरक्षित खानेपानी केवल खानेपानी आयोजना वा स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, उपभोक्ता समिति, स्वास्थ्य संस्था, सञ्चार क्षेत्र र समुदाय सबैको साझा दायित्व भएको उनको भनाइ थियो।
जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन सुमित्रा न्यौपानेले जिल्लाका विभिन्न पालिकाबाट खानेपानीका नमुना संकलन गरी नियमित परीक्षण गर्ने गरिएको जानकारी दिइन्। नेपालमा सुरक्षित खानेपानीमा नागरिकको पहुँच विस्तार हुँदै गए पनि पानीको गुणस्तर कायम गर्नु अझै चुनौतीपूर्ण रहेको उनले बताए। सफा देखिने सबै पानी सुरक्षित नहुन सक्ने भन्दै नियमित परीक्षण र निगरानीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन्।
खानेपानीको स्रोत, भण्डारण र वितरण प्रणालीको नियमित परीक्षण तथा जोखिम मूल्याङ्कन नगर्दा पानीजन्य रोगको जोखिम बढ्ने उनले बताए। मुहानदेखि उपभोक्ताको घरसम्म पुग्ने प्रत्येक चरण सुरक्षित हुनुपर्ने र एउटा चरणमा हुने लापरबाहीले सम्पूर्ण प्रणाली प्रभावित हुन सक्ने उनको भनाइ थियो।
खानेपानी तथा सरसफाइ डिभिजन नं. ३ सिन्धुपाल्चोकका प्रमुख सृष्टि ख्वालापालाले सम्बन्धित सरकारी निकायहरूबीच समन्वय गरेर अघि बढ्न सकिने बताए। स्वच्छ र सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले गुणस्तरीय पानी उपलब्ध गराउने विषयलाई सबै जिम्मेवार निकायले उच्च प्राथमिकतामा राख्नुपर्ने उनले बताए। खानेपानी वितरण गर्नु मात्र पर्याप्त नभई उपभोक्तासम्म पुग्ने पानी सुरक्षित र स्वास्थ्यका दृष्टिले उपयुक्त छ भन्ने सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
नेपाल खानेपानी महासंघका जिल्ला अध्यक्ष बालकुमारी सापकोटा, जुगल थाल्खार्क होल्चे खानेपानी उपभोक्ता समितिका उपसचिव कृष्णबहादुर ठकुरीलगायतले घरायसी तहमा समेत पानी उमालेर वा शुद्धीकरण गरेर प्रयोग गर्ने बानी विकास गर्नुपर्ने तथा सचेतनामूलक कार्यक्रमलाई समुदायस्तरमा विस्तार गरी खानेपानी वितरण गर्ने संस्थालाई थप जिम्मेवार बनाउन आवश्यक रहेको बताए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, चौतारा अस्पतालका प्रमुख विवेक भण्डारी, चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपाल, नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका कमलचरण कक्षपति, जनहित ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक राकेश राना, जनस्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत शिवराम बस्नेतलगायत सरोकारवालाको उपस्थिति रहेको जनस्वास्थ्य अधिकृत निशान सापकोटाले जानकारी दिए।
कार्यक्रममा सहभागीहरूले वर्षायाममा बढ्ने पानीजन्य रोगको रोकथामका लागि गुणस्तरीय र सुरक्षित खानेपानी नै सबैभन्दा प्रभावकारी उपाय भएको निष्कर्ष निकाले।














प्रतिक्रिया दिनुहोस्