सिन्धुपाल्चोक, असार ८ – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र सिन्धुपाल्चोकका सबै स्थानीय तहमा ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य कार्यक्रम’ विस्तार गर्ने भएको छ। हाल पाँचपोखरी थाङपाल गाउँपालिकामा सुरु भएको उक्त कार्यक्रम आगामी आर्थिक वर्षभित्र जिल्लाका बाँकी ११ स्थानीय तहमा पनि कार्यान्वयन गरिने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
सोमबार जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले पत्रकार तथा सञ्चारकर्मीसँग आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो। कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ का स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा विगत एक वर्षको प्रगति समीक्षाबारे जानकारी गराइएको थियो।
बागमती प्रदेश सरकारको महत्वाकांक्षी कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षभित्र ‘एक जिल्ला स्वास्थ्य सहर’ अभियानलाई पनि पूर्णता दिने लक्ष्य राखिएको जानकारी दिइयो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईले कार्यालयले एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि, भोग्नुपरेका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी दिइन्। स्वास्थ्य क्षेत्रका गतिविधिबारे सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाको पनि उनले प्रष्टीकरण दिइन्।
जनस्वास्थ्य अधिकृत बबिता श्रेष्ठले कार्यालयले गत आर्थिक वर्षमा गरेका प्रगति, स्वास्थ्य क्षेत्रका उपलब्धि तथा आगामी आर्थिक वर्षका लागि तय गरिएका विभिन्न कार्यक्रमहरूको विस्तृत कार्यपत्र प्रस्तुत गरिन्।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिन्धु शाखाका उपाध्यक्ष दीपक अर्यालले जनस्वास्थ्य कार्यालयले गरेका सकारात्मक कामको प्रशंसा गर्दै जिल्लाको स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने पक्षहरू रहेको बताए। उनले स्वास्थ्य क्षेत्रका समस्या समाधान तथा जनस्वास्थ्य कार्यालय र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिए।
जनस्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर देवराज सुवेदीले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।














प्रतिक्रिया दिनुहोस्