सिन्धुपाल्चोक । नेपाल तरुण दल मेलम्ची नगर समितिका अध्यक्ष श्याम लामालाई प्रहरीले पक्राउ गरेपछि नेपाली कांग्रेस सिन्धुपाल्चोकले बिरोध गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले बिज्ञप्ती जारी गर्दै लामा पक्राउको विरोध गरेको हो ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिले शुक्रबार विज्ञप्ति जारी गर्दै श्याम लामालाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको दाबी गरेको छ। कांग्रेसले पक्राउलाई लोकतान्त्रिक मूल्य र नागरिक अधिकार विपरीत भएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।
संविधानले नागरिकलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न र आफ्ना विचार व्यक्त गर्न पाउने अधिकार दिएको उल्लेख गर्दै फरक राजनीतिक विचार भएकै कारण कसैलाई दुःख दिन नहुने बिज्ञप्तिमा भनिएको छ ।
सिन्धु कांग्रेसले श्याम लामामाथि लगाइएका आरोपहरू निराधार र मनगढन्ते रहेको दाबी गर्दै सबै आरोप फिर्ता लिएर सम्मानपूर्वक रिहा गर्नुपर्ने माग गरेको छ।
पार्टीले कानुनी शासन, मानव अधिकार र नागरिक स्वतन्त्रताको पक्षमा सधैँ प्रतिबद्ध रहेको समेत जनाएको छ। त्यस्तै नेपाली काङ्ग्रेस मेलम्ची नगरपालिका सभापति बसन्त गुरुङले नेपाल तरुण दल मेलम्ची नगरपालिका नगर समितिका अध्यक्ष श्याम लामालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेसले उक्त पक्राउप्रति घोर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।
नगर कार्यसमितिका सभापति बसन्त गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष लामालाई विभिन्न झुटा तथा कपोलकल्पित आरोप लगाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ। कांग्रेसले उक्त कदमलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको पराकाष्ठा भएको काङ्ग्रेसले जनाएको छ।
विज्ञप्तिमा नेपालको संविधान, २०७२ को धारा १७ (स्वतन्त्रताको हक) ले प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रताको सुनिश्चितता गरेको स्मरण गराइएको छ। कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई यस अधिकारबाट वञ्चित गर्न नपाइने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सङ्गठन खोल्ने तथा त्यसमा आबद्ध हुने स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने, बसोबास गर्ने तथा आफ्नो पेसा, व्यवसाय र रोजगारीमा संलग्न हुने अधिकार संविधानले प्रत्याभूत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।















प्रतिक्रिया दिनुहोस्