images
images

तरुण दल मेलम्चीका अध्यक्ष श्याम लामाको पक्राउप्रति नेपाली कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग

मेलम्ची । नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिले नेपाल तरुण दल मेलम्ची नगरपालिका नगर समितिका अध्यक्ष श्याम लामालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले उक्त पक्राउप्रति घोर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।
नगर कार्यसमितिका सभापति बसन्त गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष लामालाई विभिन्न झुटा तथा कपोलकल्पित आरोप लगाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ। कांग्रेसले उक्त कदमलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको पराकाष्ठा भएको काङ्ग्रेसले जनाएको छ।
विज्ञप्तिमा नेपालको संविधान, २०७२ को धारा १७ (स्वतन्त्रताको हक) ले प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रताको सुनिश्चितता गरेको स्मरण गराइएको छ। कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई यस अधिकारबाट वञ्चित गर्न नपाइने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सङ्गठन खोल्ने तथा त्यसमा आबद्ध हुने स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने, बसोबास गर्ने तथा आफ्नो पेसा, व्यवसाय र रोजगारीमा संलग्न हुने अधिकार संविधानले प्रत्याभूत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
“कुनै पनि व्यक्तिलाई पर्याप्त प्रमाण र कानुनी आधारबिना दोषीका रूपमा चित्रित गर्नु, समाजमा विभिन्न आरोप तथा उपमा लगाई चरित्र हत्या गर्ने प्रयास गर्नु तथा राजनीतिक पूर्वाग्रहका आधारमा राज्य संयन्त्रको प्रयोग गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कार्य हो,” विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले शारीरिक रूपमा स्वस्थ, अनुशासित तथा सङ्गठित हुनु कुनै अपराध नभएको स्पष्ट पार्दै राज्य सञ्चालन गर्ने पक्षको विचारभन्दा फरक मत राखेकै आधारमा कसैलाई अपराधी करार गर्नु लोकतन्त्रको मर्ममाथिको प्रहार भएको जनाएको छ। नेपाली कांग्रेस तथा यसका भातृ सङ्गठनहरू सधैं विधिको शासन, मानव अधिकार, नागरिक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा दृढतापूर्वक उभिँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक पूर्वाग्रह तथा प्रतिशोधका आधारमा नियन्त्रणमा लिइएका तरुण दलका अध्यक्ष श्याम लामामाथि लगाइएका आरोपहरूको निष्पक्ष, पारदर्शी तथा कानुनी ढङ्गबाट छानबिन गर्न र कुनै ठोस कानुनी आधार वा प्रमाण नभएको अवस्थामा उहाँलाई तत्काल रिहा गर्न कांग्रेसले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
साथै, नागरिक स्वतन्त्रता, मानव अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न तथा राज्यका निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराइएको छ। नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्थामा कानुनी शासन र नागरिक अधिकारको संरक्षण सर्वोपरि हुने उल्लेख गर्दै राज्यका निकायहरू निष्पक्ष, स्वतन्त्र र कानुनसम्मत ढङ्गले सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्