images
images

बलेफी गाउँपालिका पालिकास्तरीय पूर्णखोप सुनिश्चितता घोषणा

बलेफी । बलेफी गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता जनाएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षता तथा उपाध्यक्ष सरु लामाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत, जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, वडा अध्यक्षहरू छबिलाल नेउपाने, रितेश तामाङ र तेज बहादुर पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मन्तव्यका क्रममा अध्यक्ष तामाङ र उपाध्यक्ष लामाले खोप कार्यक्रमसहित समग्र स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले लगानी बढाउने प्रतिबद्धता जनाउँदै महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गरे। उनीहरूले पूर्णखोप अभियानलाई सफल बनाउन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले पूर्णखोप अभियानको प्रगति, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै सबै लक्षित बालबालिकालाई समयमै खोपको पहुँचमा ल्याउन निरन्तर प्रयास भइरहेको बताए।
गाउँपालिकाले पूर्णखोप सुनिश्चितता घोषणासँगै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गर्न नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्