images
images

बजार अनुगमनमा ६ हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट, नवीकरण विनै सञ्चालित अस्पताललाई निर्देशन

बाह्रविसे नगरपालिकामा सञ्चालनमा रहेका विभिन्न व्यवसाय तथा स्वास्थ्य संस्थामाथि गरिएको संयुक्त बजार अनुगमनका क्रममा रु. ६ हजार ३ सय ३३ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा आइतबार सम्पन्न अनुगमनमा बाह्रविसे नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हकहित संरक्षण मञ्च तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले खाद्य पसल, होटल, मेडिकल, औषधि पसल, निजी स्वास्थ्य संस्था लगायत ३९ वटा व्यवसायिक फर्मको निरीक्षण गरेको थियो।

images
images

अनुगमनका क्रममा केही व्यवसायहरूले दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको, सरसफाइमा पर्याप्त ध्यान नदिएको र म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखेको भेटिएपछि सम्बन्धित व्यवसायीलाई सचेत गराइएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले जानकारी दिए।

यस्तै, बाह्रविसेस्थित किष्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको निरीक्षण गर्दा २०७१ सालदेखि नवीकरण नगरी सञ्चालन गरिएको तथा चिकित्सक बिनै सेवा प्रवाह गरिरहेको पाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले बताए। अस्पताललाई कानुनी प्रक्रिया पूरा गरेर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिइएको उहाँले जानकारी दिए ।

बजारमा उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरून्, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण होस् भन्ने उद्देश्यले यस्ता अनुगमनलाई निरन्तरता दिइने सरोकारवाला निकायहरूले बताएका छन्। नियमित अनुगमनले व्यवसायीलाई जिम्मेवार र उपभोक्तालाई सुरक्षित बनाउने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्