सिन्धुपाल्चोक । २०६४ सालमा श्री शारदा माध्यमिक विद्यालयको १८ कोठे पक्की भवन निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको जापानी संस्था युनेस्को (UNESCO) लाई विद्यालयले एक भव्य कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ। विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको सहभागितामा विशेष सम्मान समारोह आयोजना गरिएको हो।
बाह्रविसे नगरपालिका वडा नम्बर ४ मा २०६४ सालमा निर्माण गरिएको उक्त विद्यालय भवन अत्यन्तै दरिलो र गुणस्तरीय प्रविधि प्रयोग गरेर निर्माण गरिएको थियो। स्थानीय स्रोतसाधन, आधुनिक इन्जिनियरिङ डिजाइन तथा भूकम्प प्रतिरोधी संरचना अपनाइएकाले भवन दीर्घकालीन रूपमा सुरक्षित र टिकाउ बनेको विद्यालय प्रशासनले जनाएको छ।
२०७२ सालमा गएको विनाशकारी महाभूकम्पले देशभरका हजारौँ विद्यालय भवनहरू क्षतिग्रस्त हुँदा समेत शारदा माध्यमिक विद्यालयको उक्त भवन भने सुरक्षित रहन सफल भएको थियो।
भूकम्पका कारण आसपासका संरचनामा क्षति पुगे पनि विद्यालयको मुख्य भवनमा कुनै ठूला क्षति नपुग्नुले जापानी संस्थाको प्रविधि र सहयोगको महत्व पुष्टि गरेको विद्यालयका शिक्षक तथा स्थानीय बासिन्दाहरूले बताएका छन्।
सम्मान कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले जापानी संस्था युनेस्कोको सहयोगले विद्यालयमा पठनपाठनको वातावरण सुधार भएको, विद्यार्थी संख्या बढेको तथा शिक्षाको गुणस्तर उकास्न ठूलो भूमिका खेलेको बताए। साथै भविष्यमा पनि विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि यस्तै अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले जापानी संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै दीर्घकालीन मित्रता र सहकार्यको कामना गरेका छन्।















प्रतिक्रिया दिनुहोस्