सिन्धुपाल्चाेक । प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका शेरबहादुर तामाङले चौतारामा जेष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट गर्दै चुनावी अभियानलाई सामाजिक सरोकारसँग जाेडेकाे छ। घरदैलो कार्यक्रमलाई केवल मत माग्ने अभियान नभई अनुभव र सुझाव संकलन गर्ने अवसरका रूपमा लिँदै उहाँले जेष्ठ नागरिकका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
भेटघाटका क्रममा तामाङले जेष्ठ नागरिकहरूलाई समाजका मार्गदर्शक र अनुभवका धनी व्यक्तित्वको रूपमा चित्रण गर्दै उनीहरूको जीवनअनुभवलाई नीति निर्माणमा समेट्ने बताए। उनले जेष्ठ नागरिकको स्वास्थ्य सेवा पहुँच, सामाजिक सुरक्षा भत्ता प्रभावकारी कार्यान्वयन तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्न पहल गर्ने उल्लेख गरे। साथै, जेष्ठ नागरिक भवन निर्माणका लागि विशेष पहल गर्ने योजना समेत सार्वजनिक गरे ।
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले आफ्ना समस्या, अपेक्षा र सुझाव राख्दै प्रत्यक्ष संवादको अवसरलाई सकारात्मक रूपमा लिएका थिए। उनीहरूले स्थानीय विकास, किसान र श्रमिकको हकहित तथा सामाजिक न्यायका पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका थिए।
तामाङप्रति विश्वास व्यक्त गर्दै जेष्ठ नागरिकहरूले टिका, खादा तथा आशीर्वचन प्रदान गरेका थिए। स्वास्थ्य, दीर्घायु र सफलताको कामनासहित उहाँलाई आगामी निर्वाचनमा विजयी हुने शुभेच्छा व्यक्त गरिएको थियो।
घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद र सरोकारका विषयमा केन्द्रित भइरहेको यस कार्यक्रमलाई चौताराका स्थानीयवासीले सकारात्मक र उत्साहजनक रूपमा लिएको जनाइएको छ।







प्रतिक्रिया दिनुहोस्