सिन्धुपाल्चोक । नेपाली कांग्रेस मेलम्ची ११ काे नेतृत्वमा नेपाली कांग्रेसको घरदैलो अभियान मेलम्चीमा बाजागाजा सहित भव्य रूपमा सुरु भएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने मेलम्ची बजारमा आयोजित स्वागत कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा उम्मेद्वार तामाङलाई घडा राखेर स्वागत गरिएको थियो भने ब्यान्ड बाजाको धुनले मेलम्ची बजार उत्साहमय बनेको थियो ।
कांग्रेसका नगर सभापति वसन्त गुरुङले मेलम्ची बजारको पूर्ण परिक्रमा गरिने जानकारी दिँदै अभियानलाई थप सशक्त बनाइने बताए ।
घरदैलो अभियानका क्रममा मेलम्चीका मतदाताहरू उत्साहित देखिएका थिए। विशेषगरी ईन्द्रावती गाउँपालिकामा तामाङले निर्वाह गरेको भूमिकाका कारण नागरिकमा सकारात्मक प्रभाव परेको स्थानीयले बताएका छन्। विकास निर्माण, सामाजिक सक्रियता र जनतासँगको निरन्तर सम्वादले मतदातामा भरोसा बढाएको देखिएको छ।
अभियानका क्रममा उम्मेद्वार तामाङले आफू निष्ठा र इमानको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे । “राजनीति सेवा र जिम्मेवारी हो, व्यक्तिगत स्वार्थ होइन,” भन्दै उहाँले पारदर्शिता, जवाफदेहिता र जनमुखी नेतृत्वमार्फत सिन्धु २ को समग्र विकास गर्ने अठोट दोहोर्याए ।
“नवीन विचार बोकेर आयौँ, सिन्धु २ को विकासको खाका लिएर आयौँ, कांग्रेस बदलिएर आएको छ, अब बदल्छौँ सिन्धु २ को अवस्था” भन्ने मूल नारासहित तामाङ चुनावी मैदानमा सक्रिय छन् ।
मेलम्चीबाट सुरु भएको यो घरदैलो अभियान आगामी दिनहरूमा क्षेत्रका विभिन्न वडाहरूमा विस्तार गरिने कांग्रेस स्रोतले जनाएको छ। कांग्रेसले संगठन सुदृढीकरणसँगै जनताको विश्वास जित्दै निर्वाचनमा सफलता हासिल गर्ने दाबी गरेको छ।















प्रतिक्रिया दिनुहोस्