images
images

सिन्धुपाल्चोकमा नयाँ राजनीतिक तरंग : अन्य दल परित्याग गरी सयौं जना रास्वपामा प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोकमा नयाँ राजनीतिक तरंग देखिएको छ । विभिन्न दलमा लामो समय सक्रिय रहेका नेताहरू तथा कार्यकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोज्न थालेपछि जिल्लाको राजनीतिक समीकरण फेरिने संकेत देखिएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सयौँको सङ्ख्यामा रास्वपाका उपाध्यक्ष डिपी अर्यालसँग टिका लगाएर पार्टी प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा एमाले, नेपाली कांग्रेस तथा माओवादी पृष्ठभूमिका नेताहरू उल्लेख्य संख्यामा रहेका छन् ।
नेकपा (एमाले)को वागमती प्रदेश कमिटी सदस्य भइसकेका जेपी सिलवालदेखि नेपाली काँग्रेसका महासमिति सदस्य भइसकेकी लिला नेपालसम्मले आफ्नो पुरानो पार्टी परित्याग गरेका छन् । नेपाल वाह्रबिसे नगरपालिकामा उपमेयरको उम्मेवार पनि भएकी थिइन् । साथै माओवादी द्वन्द्वकालमा सक्रिय भई राजनीतिमा लागेका धेरै व्यक्तिहरूले पनि रास्वपामा आवद्धता जनाएका छन् ।
एमाले वागमती प्रदेशका पूर्व सदस्य जेपी सिलवालले सामाजिक व्यक्तित्व भरत पराजुली उम्मेदवार भएकाले उनलाई विजयी गराउन आफूहरूले रास्वपा रोजेको बताए । यस्तै, माओवादी पृष्ठभूमिका जिल्ला कमिटी सदस्य चीनलाल श्रेष्ठले आफू आबद्ध दल परिवारवादमा फसेकाले विकल्प खोज्दै रास्वपामा आएको प्रतिक्रिया दिए ।
पञ्चायतकालदेखि नै कांग्रेसमा सक्रिय रहेर जेलनेल भोगेकी मानेश्वाराकी लिला नेपालले कांग्रेसभित्र बढ्दो अराजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्प रोजेको बताइन् ।
रास्वपामा प्रवेश गर्नेहरूमा साविक माओवादीबाट चीनलाल श्रेष्ठसहित जिल्ला सदस्य धनबहादुर श्रेष्ठलगायत १५० जना रहेका छन् । एमालेबाट सिलवालसहित पूर्व जिल्ला कमिटी सदस्य अमृत बुढाथोकी, जुगल–काठमाडौं सम्पर्क मञ्च सदस्य श्याम श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य धर्मलाल श्रेष्ठ, जुगल गाउँ कमिटी सदस्य राजकुमार सिलवाल, अनेरास्ववियु केन्द्रीय सदस्य केन्जो दोर्जे शेर्पालगायत छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट लिला नेपालसहित जलविरे क्षेत्रका पुराना नेता बेनुदाश श्रेष्ठ, जिल्ला सदस्य तीर्थविक्रम सिलवाल, भोटेकोशी–३ इकाइ सभापति विष्णु श्रेष्ठ, बिले तामाङ, वडाअध्यक्षका प्रत्यासी समसेर शेर्पा, कांग्रेस बाह्रबिसे नगरसमिति सदस्य मनोज श्रेष्ठसहित ३२३ जना रास्वपा प्रवेश गरेका छन् ।
भोटेकोशी गाउँपालिकामा जेनजी समूह गठन गरी विभिन्न सामाजिक मुद्दामा सक्रिय प्रकाश कार्की नेतृत्वको समूह पनि रास्वपामा समाहित भएको छ । प्रवेश गर्ने सबैले बिना शर्त ‘घण्टी’ चुनाव चिन्हका उम्मेदवारलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस घटनाले सिन्धुपाल्चोकको राजनीतिक परिदृश्यमा नयाँ ध्रुवीकरणको संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । यहाँ नेकपा एमाले,कांग्रेसको प्रतिश्पर्धा हुने अनुमान गरिएको थियो । अव रास्वपा पनि सँगसँगै आएको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्