नवलपुर । नवलपुर माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह २०८२ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले विद्यालयलाई यस स्तरसम्म पु¥याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भौतिक संरचना मर्मत तथा भवन निर्माणका लागि वडाबाट बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विपन्न विद्यार्थीहरूलाई स्टेसनरी सहयोग गर्दै आएको बताउनुभयो । साथै, विद्यार्थी नियमित विद्यालय गएको छ कि छैन र शिक्षकले प्रभावकारी रूपमा अध्यापन गरिरहेका छन् कि छैनन् भन्ने विषयमा अभिभावकले समेत निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । साथै अभिभावकले पनि घरमा आफ्ना नानीबाबुहरु लाई समय दिनुपर्नेमा जोड दिनुभयो ।

विशेष अतिथि वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरीले आफू शैक्षिक अभियानको एक अंग भएको बताउँदै पालिकाभित्रका विद्यार्थी तथा शिक्षकहरूलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो। प्राविधिक शिक्षाका लागि समेत सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले सहयोग गर्ने शैक्षिक अभियानता तथा समाजसेवी मोहनबहादुर गिरीको प्रशंसा गर्नुभयो । विद्यालयमा स्थापना गरिएको नवलपुर माध्यमिक बिद्यालय वृहत छात्रवृत्ति तथा पुरस्कार अक्षयकोषमा गिरीले ५५,५,५५ रुपैयाँ सहयोग समेत गर्नुभएको छ ।
अघिल्लो वर्षमै स्थापना उद्घोष गरिएको यस अक्षयकोषमा सहयोगको प्रतिवद्धता भएका एक लाख ५१ हजार पाँच सय ५५ रुपैयाँ र यस वर्ष २३ हजार १ सय ३३ रुपैया थप भई अक्षयकोषमा कुल रकम एक लाख ७४ हजार ६ सय ८८ पुगेको बिद्यालयका शिक्षक चित्र कुमारी खोखालीले जानकारी दिनुभयो । कोषबाट अनाथ तथा टुहुरा विद्यार्थी, वर्षमा ६ महिनाभन्दा बढी खान नपुग्ने आर्थिक हैसियत भएका विद्यार्थी, अपाङ्ग दलित तथा जनजाति र उक्त वर्गमाका उत्कृष्ट प्रतिस्पर्धात्मक अङ्क उपलब्धि हासिल गरेका विद्यार्थी तथा विद्यालयले आयोजना गरिने अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत तोकिएको कार्यक्रममा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने पनि उहाँले जानकारी दिनुभयो । साथै अक्षयकोषमा सहयोग गर्न समेत सबैमा आह्वन समेत गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सभापति शेर बहादुर तामाङले कार्यक्रमको औचित्य बुझ्न आवश्यक रहेको बताउँदै विद्यालय स्थापना गर्ने अग्रजहरूप्रति गर्वसाथ स्मरण गर्नुभयो । भूतपूर्व विद्यार्थीहरू पुनर्मिलनमा सक्रिय रूपमा सहभागी नभएकोमा उहाँले चिन्ता व्यक्त गर्दै शैक्षिक सुधारका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै अभिभावकहरूले पनि थप चासो दिनुपर्नेमा जोड दिनुभयो ।
बिद्यालयमा उत्कृष्ट शैक्षिक नतिजा निकाल्न सफल शिक्षकहरू तथा विद्यालयमा अक्षयकोष स्थापना गर्ने दाताहरूलाई प्रमाणपत्र, खादा र टीकासहित सम्मान गरिएको थियो । सहयोगदाताहरूले ५ हजारदेखि ५५ हजार रुपैयाँसम्म अक्षयकोषमा सहयोग गरेका थिए ।
यसैबीच, एसइइ २०८१ मा ३.३८ जिपिए ल्याई विद्यालयमै उत्कृष्ट नतिजा हासिल गर्नुभएका विद्यार्थी सुशीला तामाङलाई हवलसिंह तामाङ स्मृति छात्रवृत्ति अन्तर्गत १० हजार रुपैयाँ प्रदान गरिएको छ । कक्षा ९ बाट उत्कृष्ठ अंक सहित उतिर्ण आयुष्मा तामाङले धनबहादुर खोखाली स्मृति छात्रवृत्ति प्राप्त गर्न सफल हुनुभयो ।
वडा स्तरीय डिजिटल हाजिरिजवाफ प्रतियोगितामा सहभागी भई पहिलो दोस्रो र तेस्रो स्थान हाँसिल गरेका बिद्यार्थीहरुलाई पुरस्कार बितरण पनि गरिएको थियो । प्रतियोगितामा नगलपुर माध्यामिक बिद्यालय पहिलो, भीमसेन आवि दोस्रो र टाकुरे आधारभुत बिद्यालयका बिद्यार्थीहरुले तेस्रो स्थान हाँसिल गरेका थिए ।
कार्यक्रमका अवसरमा विद्यालयमा सञ्चालन भएका विभिन्न अतिरिक्त क्रियाकलापका सहभागीहरू तथा वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ प्रमुख अतिथि रहनुभएको थियो भने वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरी, वडा सदस्य गोबिन्द तामाङ, समाजसेवी, विद्यालयका पूर्व अध्यक्षहरू, शिक्षक, छिमेकी विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर मतामाङको सभापतित्वमा सम्पन्न भएको हो ।
शिक्षक नवराज भेटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक सुरेन्द्र मान श्रेष्ठले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।















प्रतिक्रिया दिनुहोस्