काठमाडौँ । नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रम राजधानी काठमाडौँमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवबहादुर सुनारले सबैलाई एकजुट भएर कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे। कांग्रेस विजयी भए मात्र देशमा वास्तविक परिवर्तन सम्भव हुने उल्लेख गर्दै उनले लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि कांग्रेस अपरिहार्य रहेको बताए।
त्यसैगरी, नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति तथा क्षेत्र नं–१ का उम्मेदवार जंगबहादुर लामाले कांग्रेसलाई जिताउन सबै तहबाट लाग्नुपर्नेमा जोड दिए। जिल्लामा कांग्रेसको संगठनात्मक अवस्था मजबुत रहेको उल्लेख गर्दै उनले सिन्धुपाल्चोकमा कांग्रेस पहिलो पार्टी रहेको दाबी गरे।
“जिल्लाका ५४ वटा वडा कांग्रेसले जितिसकेको छ, एमाले र माओवादी दोस्रो र तेस्रो स्थानमा छन्,” उनले भने, “एकताबद्ध भएर चुनावमा होमिए कांग्रेसले दुवै क्षेत्रमा जित निकाल्छ।” कांग्रेस जनतासँग प्रत्यक्ष रूपमा जोडिएको पार्टी भएकाले चुनाव जित्ने विश्वाससमेत उनले व्यक्त गरे।
कार्यक्रममा क्षेत्र नं–२ का कांग्रेस उम्मेदवार बंशलाल तामाङले आफूहरू ‘विना बर्दीका सेवक’ भएको उल्लेख गर्दै विगतमा सही प्रतिनिधि छनोट गर्न नसक्दा देशले दुःख भोग्नुपरेको बताए।
“विगतमा थुप्रै प्रतिनिधि जितायौँ तर सही व्यक्ति छान्न सकेनौँ, त्यसकै परिणामस्वरूप भदौ २४ को अवस्था आयो,” उनले भने, “प्रकृति बलवान् हुन्छ, प्रकृतिको विरोधमा गरिएको काम विस्फोट भएर निस्कियो।”
तामाङले यस्तो अवस्थाको पुनरावृत्ति रोक्न कांग्रेसको जित आवश्यक रहेको बताए। कम्युनिस्टहरूले चुनाव जितेर पनि अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै उनले कांग्रेस ठूलो पार्टीका रूपमा स्थापित हुने दाबी गरे।
“यो युग गगनको युग हो,” उनले भने, “फागुन २१ गते सबैको साझा लडाइँ हो, यो लडाइँमा कांग्रेसले विजय हासिल गर्नुपर्छ।”
कार्यक्रममा क्षेत्र नं–२ का अध्यक्ष बुद्ध बहादुर तामाङ छिरिङले पनि शुभकामना मन्तव्य राखेका थिए।
बागमती प्रदेश अध्यक्ष मणिलोचन न्यौपानेले कांग्रेसका उम्मेदवारलाई जिताउन सबै भूतपूर्व सैनिक साथीहरूलाई अनुरोध गरे।
भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य बोधविक्रम पण्डितले उम्मेदवार जिताउन कुनै कसुर बाँकी नराख्ने बताए।
कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला अध्यक्ष कुल बहादुर राउतले निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन सबै तह र तप्काका साथीहरू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन जिल्ला सचिव ज्ञानेन्द्र सिग्देलले गरेका थिए।
















प्रतिक्रिया दिनुहोस्